यी हुन् महामारीमा पनि नेपाली युवा ठग्ने म्यानपावरहरु (सूचीसहित)

तर्कबहादुर थापा
५ पुष २०७७ ९:५३
1.9k
Shares

काठमाडौं। घटना १ : मंसिर ३० गते मंगलबार विदेश पठाइदिन्छु भन्दै अवैधरुपमा अन्तरर्वार्ता लिइरहेको अवस्थामा वैदेशिक रोजगार विभागले प्याराडाइज इन्टरनेसनल प्रा.लि.मा छापा मा-याे।

पूर्वस्वीकृति नलिई अन्तरर्वार्ता लिइरहेको थाहा पाएपछि दिउँसो १२ बजे विभागले छापा मार्दा उक्त म्यानपावर कम्पनीबाट ६२ थान पासपोर्ट, २ वटा सीपीयू र विभिन्न कागजात नियन्त्रणमा लिएको छ।

घटना २ :  मंसिर ८ गते कतारको पुलिसमा पठाइदिने भन्दै अवैध अन्तरर्वार्ता लिइरहेका एस.ओ.एस. म्यानपावर प्रा.लि. र डीडी ह्युमन रिसोर्स प्रालिमा विभागले छापा मा-याे। करिव ८ सय नेपाली युवाहरु ठगिनबाट जोगिए।

घटना ३ :  कतारकै पुलिसमा पठाइदिन्छु भन्दै अन्तरर्वार्ता लिदैँ गरेको अवस्थामा मंसिर ९ गते होप इन्टरनेसनल प्रा.लि. मा विभागले छापा मार्यो। मिनिस्ट्री अफ ह्युमन रिसोर्स डिपार्टमेन्ट कतारमा सुरक्षा गार्डको रुपमा पठाउने भन्दै अन्तर्वार्ता लिइएको थियो।

कतारी नियोगको गाडीसमेत विभागले म्यानपावर कम्पनीकै हातामा फेला पार्यो। कतारी कर्णेल नेपाल सरकारलाई समेत जानकारी नदिई आएका कारण अफ्ठेरोमा परे र सुरक्षा माग गरे।

घटना ४ : वैदेशिक रोजगार विभागले मंसिर २५ गते नै सुर्खेत ओभरसिज, एचएमटी ओभारसिज, ओम इम्पोलाइमेन्ट सर्भिसेज र अन्नपूर्ण इन्टरनेसनलमा छापा मा-याे। वैदेशिक रोजगारीमा पठाउनका लागि विभागबाट लिनु पर्ने पूर्व स्वीकृतिविना नै अन्तर्वार्ता लिइरहेको अवस्थामा  ती म्यानपावर कम्पनीहरुमा विभागले छापा मारेको हो।

यी घटनाहरु तत्कालका र प्रतिनिधि घटनाहरु मात्र हुन्। मुलुक कोरोना माहामारीसँग जुधिरहेका बेला झन् बढ्दै गएको बेरोजगारी दलालहरुका लागि भने धनी बन्ने बाटो बनेको छ। गरीबी र बेरोजगारीको मारमा कोरोनाको मार थपिए पनि ज्यान हत्केलामा राखेर बैदेशिक रोजगारीको बाटो खोज्न भौँतारिएका नेपाली युवाहरुलाई महामारीको यो एक वर्षमा दलालहरुले ठग्नुसम्म ठगेका छन् ।

कतिको ऋण गरेर ल्याएको रकम दलालले पचाएका छन् भने विदेश नै पठाए पनि भिजिटभिसा वा असम्बन्धित कामका लागि पठाएर विदेशमै अलपत्र पर्दै गुहार माग्ने नेपालीहरुको कथा दर्दनाक छ। महामारीले पीडित युवालाई रोजगारी दिन्छु भन्दै ठगी धन्दा चलाउनेहरुको को को हुन त? किन चलेको छ यस्तो धन्दा ? गत माघदेखि हालसम्म करिव ४० मेनपावर कम्पनीहरु कारवाहीमा परिसकेका छन्।

‘विश्व कोरोना महामारीका विरद्ध लडिरहेको छ। हामी आफ्नै देशमा आफ्नै दाजुभाइलाई विदेश पठाउछौं भनी ठग्ने दलालहरुको विरुद्ध लडिरहनु परेको छ,’ वैदेशिक रोजगार विभागका प्रमुख कुमारदाहालले डिसी नेपालसँग भने। कोरोनाको महामारीका बेला पनि ठगी गर्ने धन्दा रोकिएन।

काठमाडौंलाई नै मुख्य कार्यालय बनाएर काम गरिरहेका अधिकांश म्यानपावर कम्पनीहरुले वैदेशिक रोजगार विभागबाट प्राप्त गर्नु पर्ने पूर्व स्वीकृतिविना नै अन्तर्वार्ता लिइरहेको अवस्थामा कारवाहीमा परेका छन्। मुलुकले आफ्ना श्रमिकहरुको सुरक्षाका लागि बनाएका नियमहरु छलेर, राज्यलाई ढांटेर विदेश पठाइदिन्छु भन्दै रकम असुल गर्नेहरु यसबीचमा कारवाहीमा पनि परेका छन्। कस्ता पर्छन् कारवाहीमा ?

‘हामीले ४/५ प्रकारले कारवाही गरेका छौं। कारवाही गर्ने प्रोसेस पनि त्यही हो,’ दहालका अनुसार अनुगमनको क्रममा कुनै कैफियत देखियो भने, कसैले स्पटमा पैसा बढी लिइरहेको जानकारी पाइयो भने र कामदारलाई ठगेको कागजातहरु फेला परकोे खण्डमा म्यानपावर कम्पनीहरु कारवाहीमा पर्ने गरेका छन्।

यस्तै, पैसा तिर्ने क्रममा म्यानपावरले चेक लगेन, भौचर दिएन र ठग्न खोज्यो भने र गन्तव्य मुलुकमा कुनै कामदार अफ्ठेरोमा पर्यो, तलब नदिएको, मानसिक वा शारीरिक हिंसा गरिएको र समयमै राहत र उद्धार नगरिएको पाइएमा पनि त्यस्ता कम्पनीहरु कारवाहीमा पर्ने गरेको महानिर्देशक दहालको भनाइ छ।

हालसम्म कारवाहीमा परेका मध्ये करिव १४ वटा म्यानपावर कम्पनीहरु वैदेशिक रोजगार ऐनको परिधिमा रहेर आवश्यक अनुसन्धान जारी रहेको दाहालले जानकारी दिए। गत माघदेखि पछिल्ला दिनमा कारवाहीको दायरामा आएका कम्पनीहरु रहेको उनको भनाइ छ। यस्तै, करिव २८ वटा म्यानपावरहरुको कारोबार रोक्का गरिएको उनले जानकारी दिए।

यस्तै कतिपयलाई सचेत गराएर समेत छोडिएको छ। सचेत होऔं, उजुर गरौं दाहालले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु पनि स्वयम सचेत नहुँदा विभागलाई कारवाही प्रक्रिया अगाडि बढाउन अफ्ठेरो भइरहेको डिसी नेपाललाई जानकारी दिए। उनले भने, ‘हामी कानुनसम्मत जानु पर्ने हुन्छ।

म्यानपावर कम्पनी वा कुनै व्यक्तिबाट ठगिएको छ भन्ने थाहा हुँदा हुदै पनि कानुनी प्रक्रियामा जाँदा आवश्यक प्रमाण नभएका कारण ठगिएको व्यक्तिले न्याय नपाएको तितो सत्य हो। म सबैमा के अनुरोध गर्छु भने वैदेशिक रोजगारीमा जानुअघि पूर्ण कागजात लिएर आफू आफ्नो ठाउँबाट बलियो भएर जानुहोस्।’

म्यानपावर कम्पनीलाई बुझाएको पैसाको भौचर माग्ने, सकभर चेक वा आइएमइबाट पैसा पठाउने र आफूले गर्ने काम, पाउने तलब तथा जाने कम्पनीका बारेमा पूर्णरुपमा जानकार भएरमात्र वैदेशिक रोजगारीमा जानु उपयुक्त हुन्छ।

दाहालले भने, ‘गरिवी, अवसर वा रहर जसरी पनि वैदेशिक रोजगारीमा जानु हुन्छ भने आफूले बुझाएका सम्पूर्ण कुराको प्रमाण बनाएर जानुहोस्, हामीसँग प्रमाण भएन भने कानुनले कुनै सहयोग गर्न सक्दैन। यदि कुनै म्यानपावर कम्पनीले तपाईँलाई प्रमाण दिन मान्दैन भने हामीलाई खबर गर्नुहोस्। हाम्रो मोबाइल नम्बरमा सिधै फोन गर्नु भएपनि हुन्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *