रुसका पूर्व राष्ट्रपति र उनका परिवारलाई अब आजीवन आपराधिक मुद्दा नलाग्ने !
काठमाडौं। रुसका पूर्व राष्ट्रपतिलाई अब आजीवन आपराधिक मुद्दा नलाग्ने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ कानुनमा हस्ताक्षर गरेका छन् । यो कानुन लागू भएपछि अब एक पटक रुपको राष्ट्रपति भइसकेका व्यक्ति पदमा नरहेको अवस्थामा पनि आपराधिक मुद्दाबाट बच्नेछन् । मंगलबार अनलाइनमा प्रकाशित गरिएको यो नयाँ कानुनले पूर्व राष्ट्रपति र उनका परिवारलाई जीवनभरी आपराधिक अभियोगमा मुद्दा चलाउन रोक लगाएको छ ।
द गार्डियनको रिपोर्टअनुसार नयाँ कानुनले पूर्व राष्ट्रपति र उनका परिवारसँग अनुसन्धानकर्ताहरुले प्रश्न सोध्न, उनीहरुको घरको खानतलासी लिन र पक्राउ गर्न पनि रोक लगाएको छ । यो नयाँ कानुन यसै वर्ष राष्ट्रव्यापी मतदानबाट स्वीकृत भएको संविधान संशोधनको एक हिस्सा हो । यो संविधान संशोधनले पुटिनलाई २०३६ सम्म राष्ट्रपति बन्न बाटो खोलेको छ ।
यसअघि पूर्व राष्ट्रपतिहरुलाई पदमा रहँदासम्म मात्र आपराधिक मुद्दा नचलाइने कानुन थियो तर अब भने पूर्व राष्ट्रपति र उनका परिवारले आजीवन यो विशेष सुविधा पाउनेछन् । अहिलेलाई यो नयाँ कानुनको सुविधा दुई परिवारले मात्र पाउनेछन् । अहिलेका राष्ट्रपति पुटिनबाहेक रुसमा एकमात्र पूर्व राष्ट्रपति दिमित्री मेदभेदेव जीवित छन् ।







डिसी नेपाल








Facebook Comment