कोभिडको बेला अग्रपंक्तिमा काम गरेका आप्रवासीले नागरिकता पाउँदै
काठमाडौं। कोभिड–१९ को बेला अग्रपंक्तिमा रहेर काम गर्ने आप्रबासी कामदारलाई पुरस्कार स्वरुप फ्रान्सले नागरिकता प्रदान गर्ने भएको छ । उनीहरुलाई ‘फास्ट ट्रयाक’ विधि अपनाएर नागरिकता प्रदान गरिनेछ। फ्रान्सको आन्तरिक मामिला मन्त्रालयले उक्त मापदण्ड पुरा गर्ने आप्रबासीलाई आवेदन दिन आव्हान गरेको छ।
बीबीसीका अनुसार करिब सात सय आप्रबासी कामदारलाई नागरिकता दिने प्रकृया अन्तिम चरणमा पुगेको छ। नागरिकता पाउनेमा स्वास्थ्यकर्मी, सरसफाइ र पसलमा काम गर्ने कामदारहरु छन्।अग्रपंक्तिमा रहेर काम गर्नेहरुमा कोभिड–१९ बाट अत्याधिक मात्रामा सङ्क्रमित भएका छन्। जसमध्ये चिकित्सक र नर्ससहितका अग्रपंक्तिका श्रमिकको मृत्यु भएकाे छ।
कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभाबित दश राष्ट्रमध्ये फ्रान्स पनि एक हो। फ्रान्समा २५ लाख ब्यक्ति सङ्क्रमित भएका छन्। ६२ हजारले ज्यान गुमाएका छन्।
अग्रपंक्तिमा रहेर काम गर्ने आप्रबासीलाई पुरस्कारस्वरुप नागरिकता प्रदान गर्ने घोषणा सेप्टेम्बर महिनामै गरिएको थियो।
हालसम्म ७४ जनाले फ्रान्सको राहदानी पाइसकेका छन्। ६९३ जना राहदानी पाउने अन्तिम चरणमा छन्। करिब दुई हजार ८९० अप्रबासीले आवेदन दिएका छन्। साधारणतया फ्रान्सको नागरिकता लिन अप्रबासीले कम्तिमा पाँच वर्ष फ्रान्समा अनिवार्य बसेको हुनुपर्छ। आम्दानी स्थिर हुनुपर्छ । फ्रान्सेली समाजमा घुलमिल गरेको हुनुपर्छ। तर यसरी नागरिकता पाउन अप्रबासीले लामो समय कुर्नुपर्ने हुन्छ।
तर कोभिडको बेला अग्रपंक्तिमा रहेर काम गरेका आप्रबासीको हकमा उक्त कानूनमा संशोधन गरिएको छ। फ्रान्समा कम्तिमा दुई वर्ष बसेको हुनुपर्ने बनाइएको छ। र प्रमाणित भएपछि फास्ट ट्रयाकमा नागरिकता दिइने बनाएको छ।सन् २०१७ मा फ्रान्समा आप्रबासीको जनसंख्या करिब ६४ लाख रहेको थियो।
फ्रान्समा बहादुरी देखाएर लोकहित गर्नेलाई पहिलो पटक भने नागरिकता दिइएको छैन। यसअघि पनि पेरिसको एक जना बालकलाई उद्धार गरे बापत् सन् २०१८ मा एक जना मलायालाई पुरस्कार स्वरुप नागरिकता प्रदान गरिएको थियो। तर यसपटक भने फ्रान्सको नयाँ ब्यवस्थाले सयौं आप्रबासीले सहजै नागरिकता पाउने अनुमान गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment