महामारीबीच श्रीलङ्कामा पर्यटकको स्वागत सुरु
कोलम्बो (एएफपी)। कोरोनामहामारी फैलिइरहेका बेला श्रीलङ्कामा विदेशी पर्यटकलाई स्वागत अभियान सुरु भएको छ। विदेशी पर्यटक ल्याउने कार्य महामारीका कारण बन्द गरिएकोमा सोमबारदेखि सुरु भएकाले विमानस्थल पनि खुलेको छ।
श्रीलङ्काले विमानस्थल खुल्ला गर्दै विदेशी पर्यटक भित्र्याउने अभियान नै सुरु गरेको सरकारी अधिकारीले जानकारी दिएका छन्। श्रीलङ्काले गत मार्चदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा स्थगित गरेको थियो।
बन्दारानाइके अन्तर्राष्ट्रिय विमानस्थलका अध्यक्ष जी ए चन्द्रासिरिले सिन्ह्वालाई दिएको जानकारी अनुसार २०० जना युक्रेनी पर्यटक मत्ताला राजापाक्षे अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रीलङ्का आउने भएका छन्।
आगामी दिनमा विमानबाट धेरै पर्यटकहरू आउने श्रीलङ्काको सरकारी अधिकारीहरूले अपेक्षा गरेका छन्। श्रीलङ्का आउदा कोरोनाभाइरसको परीक्षण गरिएको पीसीआर रिपोर्ट पनि पेस गर्नु पर्ने र त्यो रिपोर्टमा कोरोनभाइरसको सङ्क्रमण नभएको देखिनु पर्ने सर्त पनि राखिएको छ।
श्रीलङ्कामा कोरोनाभाइरसबाट अहिलेसम्म ४१ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन्। यहाँ अहिले दोस्रो चरणको महामारी चलिरहेको छ।
श्रीलङ्कामा २४ घण्टामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्कमा उल्लेख छ ।
श्रीलङ्कामा सक्रिय सङ्क्रमितको सङ्ख्या झण्डै आठ हजार रहेको र १८६ भन्दा बढी सङ्क्रमित व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
लामो समयसम्म गृहयुद्धको सामना गरेको एसियाली यो मुलुकमा कोभिड–१९ को सङ्क्रमणको दोस्रो लहर देखिएसँगै सरकारले थप साबधानी अपनाउन लागिएको बताएको छ। श्रीलङ्काको बढी प्रभावित पश्चिमी प्रान्तहरूमा गत अक्टोबरदेखि विद्यालयहरू बन्द अवस्थामा रहेका छन्।
राजधानी कोलम्बोस्थित माछा बजार र बजार वरपरको ग्रामिण वस्तीमा समेत कोभिड–१९ को दोस्रो लहर देखा परेको छ। ती स्थानहरूलाई सहरका अन्य इलाकासँगको सम्पर्कसँग छुट्टिनेगरी सङ्क्रमण क्षेत्रमा सावधानीका उपायलाई कडाईका साथ लागू गरिएको छ।







डिसी नेपाल








Facebook Comment