कुवेतमा अवैधरुपमा बसेकालाई वैधानिक हुन थपियो एक महिनाको समय
काठमाडौं। कुवेतमा अवैधरुपमा बसेका विदेशीहरुले एक महिनाभित्रै वैधानिक हुनुपर्ने भएको छ। कुवेतस्थित नेपाली राजदूतावासका अनुसार कुवेतले आफ्नो मुलुकमा अवैधानिकरुपमा बसिरहेका आप्रवासी कामदारहरुको लागि एक महिना (यहि १ जनवरी २०२१ देखि ३१ जनवरीसम्म)को समय थप गरेको हो।
कुवेतको आन्तरिक मामिला मन्त्रालयका अनुसार उक्त थप गरिएको अवधिभित्र आवासीय कानून उल्लङ्घनकर्ता विदेशी नागरिकहरूले आफ्नो कानूनी वैधता कायम नगरेको पाइएमा त्यहाँको कानुन अनुसार सजायको भागिदार बन्नु पर्ने जनाइएको छ। साथै, अटेर गरेमा त्यस्ता नागरिकले आवासीय भीसा प्राप्त गर्न नसक्ने र कुवेतमा पुनःफर्कन नसक्ने गरी डिपोर्ट गरिने जनाइएको छ।
यसअघि त्यहाँको मन्त्रालयले अवैधानिकरुपमा बसिरहेका आप्रवासी कामदारलाई ३१ डिसेम्बर २०२० सम्म जरिवाना तिर्ने समयावधि दिएको थियो। त्यसलाई बढाएर हाल फेरि एक महिनाको समयअवधि थपेको हो। कुवेतमा तीन हजारभन्दा बढी नेपाली कामदार अवैधरुपमा बसेको त्यहाँस्थित नेपाली दूतावासको अनुमान रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment