ट्रम्पमाथि सबै सामाजिक संजालको कारवाही, आफ्नै सांसदले साथ छोडे, राजधानीमा कर्फ्यू

डिसी नेपाल
२३ पुष २०७७ १०:४०
984
Shares

काठमाडौं। अमेरिकाको संसदमा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकहरुले आक्रमण गरेपछि अहिले राजधानी वाशिङटन तनावग्रस्त छ । तनावका बीच सामाजिक संजालहरु ट्वीटर, फेसबुक, इन्स्टाग्राम, युट्युबले राष्ट्रपति ट्रम्पमाथि कारवाही गरेका छन् । वाशिङटनमा चलिरहेको तनावका बीच राष्ट्रपति ट्रम्पले समर्थकहरुलाई सम्बोधन गर्दै उनीहरुलाई घर जान भने । तर, उनले सम्बोधनमा कैयौं गलत कुराहरु भनेपछि सामाजिक संजालहरुले उनीविरुद्ध कारवाही गरेका हुन् ।

ट्वीटरले ट्रम्पको खाता १२ घण्टाको लागि लक गरेको छ । चुनाव र हिंसाका विषयमा ट्रम्पले गरेका सबै ट्वीटहरु हटाइएको छ । फेसबुकले ट्रम्पको खातालाई २४ घण्टाको लागि प्रतिबन्ध लगाएको छ । युट्युबले पनि ट्रम्पका भाषणहरु हटाएको छ । इन्स्टाग्मले ट्रम्पको खाता २४ घण्टाको लागि बन्द गरेको छ ।

तनावपछि पनि अमेरिकी संसद सत्र भने सुरु भएको छ । तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभकी सभामुख न्यान्सी पेलेसीले नडराइ संसदको काम जारी राख्ने बताएकी छिन् । संसदमा ट्रम्पलाई आफ्नै पार्टीका सांसदले साथ दिएका छैनन् । रिपब्लिकन सिनेटर मिट रोमनीले घटनाको निन्दा गरेका छन् । उनले राष्ट्रपतिले हिंस्रक भीडलाई संसदमा पस्न उक्साएकोमा आफू लज्जित भएको बताएका छन् । लोकतन्त्रमा हारजीत स्वीकार गर्ने हिम्मत हुनुपर्ने बताउँदै उनले आफ्ना पार्टीका सहयोगीलाई लोकतन्त्र बचाउन अगाडि आउन अपिल गरे ।

तनावपछि राजधानी वाशिङटनमा कर्फ्यू आदेश जारी गरिएको छ । उता ट्रम्पका उपराष्ट्रपति माइक पेन्सले पनि यो घटनाको निन्दा गरेका छन् । निर्वाचित राष्ट्रपतिको जीतको औपचारिक घोषणाको लागि कंग्रेसको संयुक्त बैठकको अध्यक्षता गरिरहेका उपराष्ट्रपति पेन्सले यो घटनालाई लिएर बुधबार अमेरिकी इतिहासको सबैभन्दा कालो दिन भएको टिप्पणी गरे । हिंसाले लोकतन्त्रलाई दबाउन नसकिने बताउँदै उनले संसद अमेरिकीहरुको भरोसाको केन्द्र थियो र रहिरहने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.