ट्वीटरले स्थायी प्रतिबन्ध लगाएपछि डोनाल्ड ट्रम्पले भने – ‘आफ्नै सामाजिक संजाल ल्याउँछु’
काठमाडौं। ट्वीटरले आफूलाई स्थायी रुपमा प्रतिबन्ध लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक संजाल ल्याउने बताएका छन् । ट्रम्पले आफूलाई कसैले रोक्न नसक्ने बताउँदै गर्दा अर्कोतर्फ डेमोक्रेटहरुले भने उनलाई डिसेम्बर २० मा पद हस्तान्तरण हुनु अगावै अपदस्थ गर्ने तयारी थालेका छन् । यदि डेमोक्रेटहरु यसमा सफल भए भने सम्भवतः ट्रम्प अर्को पटक राष्ट्रपतिको चुनाव लड्न समेत पाउने छैनन् ।
डेली मिररका अनुसार डोनाल्ड ट्रम्पलाई पदमा रहिरहन सजिलो छैन किनकि उनकै पार्टीका एक सिनेटरले ट्रम्पले राजीनामा नदिए पार्टी नै छाड्ने चेतावनी दिएका छन् । अर्कोतर्फ ट्रम्पका समर्थकहरुले अमेरिकी संसदमा आक्रमण गरेपछि उपराष्ट्रपति माइक पेन्स पनि रुष्ट छन् । यो आक्रमणमा एक पुलिसकर्मी र ४ सर्वसाधारण गरी ५ जनाले ज्यान गुमाएका थिए । ट्रम्पले समर्थकहरुलाई क्यापिटल हिलतर्फ मार्च निकाल्न आग्रह गरेपछि यो आक्रमण भएको थियो ।
ट्रम्पले पटक पटक झुटो दावीहरु गर्न थालेपछि उनका ट्वीटले उनका समर्थकलाई भड्काउने र उनले शान्ति सुरक्षा बिथोल्न सक्ने भन्दै ट्वीटरले ट्रम्पको ट्वीटर ह्याण्डल स्थायी रुपमा बन्द गरेको थियो । ट्वीटरमा ट्रम्पका ८८ मिलियन फलोअर थिए । ट्वीटरले ट्रम्पले आफ्नो नीति उल्लंघन गरेकोले उनलाई प्रतिबन्ध लगाएको बताएको छ । ट्वीटरले प्रतिबन्ध लगाएपछि ट्रम्पले शुक्रबार राती र शनिबार अरुको ट्वीटर ह्याण्डलबाट ट्वीट गर्ने प्रयास गरिरहेका थिए ।
ट्रम्पले छिटै ठूलो घोषणा गर्न लागेको र कैयौं अरु साइटहरुसँग यस विषयमा छलफल भइरहेको पनि दावी गरेका छन् । उनले आफूहरु चुप नबस्ने समेत घोषणा गरे । ट्रम्पलाई कारवाही गर्ने सामाजिक संजाल ट्वीटर मात्र होइन । गुगलले ट्रम्प समर्थक पार्लर सामाजिक संजाललाई एप स्टोरबाट हटाएको छ । युट्युबले स्टिभ बेननको पडकास्ट पनि हटाएको छ । फेसबुक र इन्स्टाग्रामले पनि ट्रम्पलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएका छन् ।
डेमोक्रेट पार्टीले ट्रम्पलाई प्रतिस्थापन गर्ने प्रक्रिया भोलिदेखि संसदमा सुरु गर्नेछ । यदि हाउस अफ रिप्रेजेन्टेटिभको बहुमतले ट्रम्पविरुद्धको आरोप सही ठहर गरेमा यो प्रस्ताव सिनेटमा जानेछ । सिनेटको २ तिहाइ बहुमतले ट्रम्पलाई दोषी ठहर गर्न सक्नेछ । र, यदि सिनेटको दुई तिहाइ बहुमत पुगेका उनीहरुले ट्रम्पलाई पुनः राष्ट्रपति बन्न दिने कि नदिने भन्ने निर्णय मतदानमार्फत गर्नेछन् । यदि सिनेटरहरुले ट्रम्पलाई पुनः राष्ट्रपति बन्न नदिने पक्षमा मतदान गरेमा ट्रम्पले २०२४ मा हुने अर्को निर्वाचन समेत लड्न पाउने छैनन् ।







डिसी नेपाल








Facebook Comment