ट्रम्पलाई हटाउन पेन्सलाई आग्रह गरिने, नमाने फेरि चुनाव लड्न नपाउने गरी महाअभियोग

डिसी नेपाल
२७ पुष २०७७ १३:५३
176
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जसरी पनि पदबाट हटाउने तयारी सुरु गरिएको छ । यसका लागि डेमोक्र्याट सांसदहरुले पहिले उपराष्ट्रपति माइक पेन्सलाई संविधानको २५ औं संशोधन प्रयोग गरेर पदबाट बर्खास्त गर्न आग्रह गर्नेछन् । मन्त्रिमण्डल र उपराष्ट्रपतिले संयुक्त रुपमा राष्ट्रपति आफ्नो कर्तव्यपालनमा असक्षम रहेको ठहर गरेमा संविधानको २५ औं संशोधनअनुसार राष्ट्रपतिलाई बर्खास्त गर्न पाउने व्यवस्था छ । यसका लागि डेमोक्र्याटहरुले उपराष्ट्रपति र मन्त्रिमण्डललाई आग्रह गर्नेछन् ।

यदि उपराष्ट्रपति र मन्त्रिमण्डलले यसो गर्न नमानेमा ट्रम्पविरुद्ध महाअभियोग लगाएर उनलाई बर्खास्त गर्ने तयारी गरिएको छ । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले डेमोक्र्याट सांसदहरुलाई लेखेको पत्रमा यसबारे बताएकी छिन् । ट्रम्पलाई महाअभियोग लगाएर फेरि राष्ट्रपतिको निर्वाचन नै लड्न नपाउने गरी प्रतिबन्ध लगाउने तयारी गरिएको छ । पेलोसीले पत्रमा लेखेकी छिन् ‘हामी आफ्नो संविधान र लोकतन्त्र बचाउनको लाति तत्परताका साथ काम गर्नेछौं किनकि यी राष्ट्रपति यी दुवैको लागि खतरा छन् ।’

२ सय भन्दा धेरै सांसदहरुले महाअभियोग प्रस्तावमा हस्ताक्षर गरेका छन् । यदि उपराष्ट्रपति र मन्त्रीमण्डल ट्रम्पलाई बर्खास्त भएमा उपराष्ट्रपति माइक पेन्स तत्कालै कार्यवाहक राष्ट्रपति हुनेछन् । संसदमा यो प्रक्रिया सोमबार बिहान (नेपाली समय सोमबार राती) सुरु गरिनेछ । राष्ट्रपति ट्रम्पले आफ्नो अधिकारको दुरुपयोग गरेर संसद भवन क्यापिटल हिलमा आक्रमण गर्ने भीडलाई माफ गर्न सक्ने खतरा भएकोले पनि उनलाई तत्कालै बर्खास्त गर्न लागिएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.