युट्युबद्वारा राष्ट्रपति ट्रम्पको खाता एक साता निलम्बन
वासिङ्टन। गूगलको स्वामित्वमा रहेको युट्युबले राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई एक साताका लागि निलम्बन गरिदिएको जनाएको छ।साथै आफ्नो नीति विपरीत हिंसा भड्काउने किसिमको उत्तेजक सामग्री पोस्ट गरेको जनाउँदै युट्युबले ती सामग्री पनि हटाइदिएको छ।
गत साता अमेरिकी संसद क्यापिटोलमा भएको ट्रम्प समर्थकको आक्रमणपछि ट्वीटर र फेसबुकले ट्रम्पका निजी खाता (अकाउन्ट) बन्द गरिदिएका छन्।
अमेरिकी ठूला प्रविधि कम्पनीहरुले राष्ट्रपति निर्वाचित जो बाइडेन विरुद्ध राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली गरेको भन्दै आधारहीन आरोप लगाएको भन्दै विरोध पनि गरेका छन्।
युट्युबले एक वक्तव्य जारी गर्दै भनेको छ, “हिंसा भड्किने सम्भावना अझै देखिएको सन्दर्भमा हामीले डोनाल्ड ट्रम्पको युट्युब च्यानलमा पोस्ट गरिएका सामग्री हटाइएको छ।”
ट्वीटरले ट्रम्पका कट्टर समर्थक मानिएको क्यूएनोन समूहसँग आबद्ध ७० हजारभन्दा बढी खाता पनि बन्द गरिदिएको छ। साथै स्नापच्याट र ट्वीचले पनि ट्रम्पका सामग्री पोस्ट गर्नबाट निलम्बन गरिदिएका छन्। राष्ट्रपति ट्रम्पको युट्युब च्यानलमा २७ लाख ७० हजार ग्राहक, समर्थक रहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment