गुडवाई ब्राजिल (नियात्रा)

डिसी नेपाल
३ माघ २०७७ ८:२८
608
Shares

‘ए ऽऽऽ नेपालबाट …!’ नेपालबाट पनि ब्राजिल आएछ। छक्कपर्दै मेरो पासपोर्ट देखायो। म अचम्म परें मनमनै गुनें के नेपालबाट ब्राजिल आउँनु हुने थिएन र? हुन सक्छ त्यो स्टाफ एउटा नेपाली ब्राजिल आएकोमा अच्चम परेको छ।

अथवा हुन सक्छ ती स्टाफले धेरै समयको अन्तरालमा नेपाली पासर्पोर्ट देखेको हुनुपर्छ। साउथ अमेरिकाको यो देश नेपालीहरुको गन्तब्यस्थल हुँदै होइन्, कहाँ अमेरिका जापान छोडेर ब्राजिल गइरहोस्। हुन त म पनि नेपालबाट ब्राजिल आएको त कदापी होइन।

मेरी श्रीमतीको दिदीको एउटा ब्राजिलियनसँग बिहे हुन लागेको थियो। उक्त बिहेमा सरिक हुनको लागि श्रीमती साथै ससुरासँग जापानबाट आएको थिएँ। जब माकीले दिदीको विहे हुने भन्ने सूचना पाइन निकै दङ्ग परेकी थिइन्।

ब्राजिल बाल्यकाल बिताएको देश पनि हो माकीको। अर्को कुरा दिदीको बिहे हुँदैछ भन्ने खव।! यी दुई कुराले तिनी निकै प्रफुल्ल थिइन्। जानु एक महिना अगाडि नै तयारीमा जुटेकी थिइन्। मेरी सासुले अमेरिका भएर गएमा समयकम लाग्छ भनेर सुझाब दिएकी थिइन तर मेरो नेपाली पार्सपोर्ट अमेरिकाको ट्रान्जिट भिषाको लागि अयोग्य ठहरियो।

माकी ज्यादै निराश भएकी थिइन् त्यसबेला मलाई लाग्यो कहि नेपालीसँग विहे गरेकोमा पश्चाताप त मानेकी छैन। के गर्ने देश गरिब भएपछि त्यस देशका नागरिक पनि त हेपिने नै भयो नि! खै जापानीहरुलाई कतै जान भिषा नै पर्दैन! कति आनन्द छ। सबैले इज्जत गर्छन्। तर हामीलाई भने एरपोर्टदेखि नै अर्कै नजरले हेर्छन्।

पहिलो चोटी जापान जाँदा कस्टम अफिसरले सोधेको थियो ‘डु यू हाव ड्रग …?’ अनि मेरो अनुहार हेर्दे पासपोर्टको भिषा तिर नजर दोडाएको थियो। मैले हाँस्दै भनेको थिए ‘तिमी मेरो ब्याग चेक गर्न सक्छौ ।’ त्यस पछि मलाई तलदेखि माथीसम्म निरिक्षण गर्दै भनेको थियो ‘यू क्यान गो’ भिषाको लागि इन्टरभ्यूमा सोधेको प्रश्नहरुले म जिल्लिएको थिए! मैले कहिले माकीलाई भटेको रे ? कहाँ भटेको रे? कहिले विहे भएको रे?

अनि जापान आएको कति भयो रे ? छ महिना भयो जापान आएको, श्रीमती, ससुरासँग विहेकोलागि ब्राजिल जाँदैछौ त्यसैले मलाई करिव ६ घण्टाको लागि ट्रान्जिट भिषा चाहियो मैले भन्दै गएको थिए। तर, म जापान बसेको अवधि धेरै नभएको कारण देखाएर मलाई भिषा नदिने निर्णय गर्यो। मैले अचम्मपर्देै भनेको थिए, ‘यो हास्यासपद हो म तिम्रो देशमा जानलागेको होइन। मलाई सिर्फ ट्रान्जिट भिषा चाहिएको हो।’

तर पनि त्यो टसको मस भएन। मलाई झनक्क रिस उठ्यो, ‘थ्याङ्स’ भन्दै पासपोर्ट लिएर हिँडे। त्यस समय साह्रै नै निराश भएको थिएँ। नेपाली हुनुको गर्व हैन अपमान भएको महसुुस गरें। हुन पनि नेपालीहरु देशको बिग्रदो स्थितिले पलायन तर्फ उन्मुख छन्। कतिपय नाम चलेका कलाकारहरु पनि त अमेरिका पलायन भएका छन्।

नेताहरुलाई एक आपसमा झैं–झगडा गर्दै फूर्सद छैन। लोकतन्त्रको नारा फलाक्दै आफ्नो दुनो सोझ्याउन ब्यस्त छन्। भाई फूटे गवांर लुटें भने झैं सत्तालोलुपता !मिल्न नसक्ने बानी। बढ्ता अहमवादी। इमान्दारीको कमिले गर्दा अस्थिर राजनीतिको पराकाष्ठा पुगेको छ। आन्दोलनको बाढी आएको छ !बन्द !चक्काजामको संस्कार मौलाएको छ।

हत्या हिँसा अपहरणको राजनीतिले देशलाई गाँजेको छ। अनि देशका नागरिकहरु कसरी शान्तले बस्न सकुन्। अभाव नै अभावको भूमरीमा परेका नेपालीहरुमा आशाको दियो जगाउने खालको कुनै नेता,कुनै दल, अझसम्म नदेखिनुले पनि निराशा छाएको छ, अनि विदेशीन बाध्य छन् नेपालहरु। यो बाध्यता हो शोख होइन्। नत्र आफ्नो देश परिवार सवलाई छाडिकिन विदेशीन चाहन्छन् र?

आफ्नो देशको माया कसलाई लाग्दैन । जति नै बर्ष विदेश बसेपनि आखिर नेपाली, नेपाली नै हुन्छन्। हो त्यस दिन मलाई साह्रै दुःख लागेको थियो किनकी जम्मा छ घण्टाको लागि ट्रान्जिट भिषापनि नदिएर नेपालीहुनुको अपमान गरे झैं लाग्यो । कहिँ मलाई पनि आंतकवादी नै सम्झौ कि के हो मनमनै गुन्नपुगें। नत्र जावो छ घण्टा एरपोर्टमा बस्नपनि भिषा चाहिने र त्यो पनि नदिने कस्तो देश हो अमेरिका।

त्यसको केही दिनपछि नेटमा एउटा लेख पढ्न पाएँ। अमेरिका भ्रमण सम्वन्धि लेखेको लेखमा लेखक ‘अभि सुवेदी’ले पनि नपाएको रहेछन्। साह्रै घतलाग्दो उक्त लेख पढपछि चाहिँ मन केही हलुका भयो र सोचें अमेरिकाको भिषा भनेको त हामी नेपालीहरुका लागी भाग्योदय चिठ्ठा झैं रहेछ । यत्रो वरिष्ठ लेखक अभिसुवेदी जस्तो ब्यक्तिले पाउन नसकेको …!

स–साना भुइतल्ले घरहरु देखेर मलाई त चितवनको जंगल सफारीको लजहरु जस्तै लाग्यो। सबैजना मिलीजुली काम गर्छन्। सबैजना एउटै घरको परिवार झैं लाग्छ। प्रायःजसो यूवाबर्ग र प्रोढको उक्तिकै जिम्मेवारी छ। यहाँ सवै भन्दा सानोमा करिव ३ वर्षको बच्चा र सबभन्दा प्रोढमा करिव १०२ बर्षको बुढा पनि छन्।

त्यसपछि माकीले यूरोप हुँदै ब्राजील जानको लागि टिकट बुक गरिन्। यदि अमेरिका हुँदै जान पाएको भए जम्मा,जम्मि २४ घण्टा लाग्दथ्यो, तर अब स्विजरलैण्ड हुँदै जानुपरेकोले करिव ३० घण्टाको सफर हुने भयो। ‘साँच्चैं नेपालीसँग विहे गर्दा त कही जान पनि भिषाकै समस्या हुँदो रहेछ।’ माकीले हाँस्दै ब्यङ्ग गरेकी थिइन्।

‘के गर्ने त गरिव देशको नागरिक भएपछि त सबैले हेप्ने नै रहेछ।’ मैले आफ्नो बिवशता पोखें। यसरी हामी नारिता–स्विस हुँदै ब्राजीलको सानपावल भन्ने शहरमा आइपुगेका थियौ ।स्विसको जुरीच एयरपोर्टमा करिब ५ घण्टा बस्नु परेको थियो। ३ जनवरी २००७ को करिव ११.३० बजे नारिताबाट जहाज उडेको थियो। करिब १३ घण्टा पछि हामी स्विसको जुरी एयरपोर्ट पुगेका थियौं।

अचम्म के थियो भने १३ घण्टाको सफर पछि पनि जुरिच एयरपोर्ट पुग्दा त्यहाँ भर्खरै ३ तारिक साँझको ४ बजेको थियो। यदि जापानमा भैदिएको भए रातको बाह्र बजिसकेको हुन्थ्यो र अर्को दिन शुरु हुन्थ्यो। यसरी एसियाबाट युरोप आउँदाको फरक समयले हाम्रो लागि जनवरी ३ तारिक निकै लामो हुनपुगेको थियो। एयरपोर्ट मलाई दिल्लीको जस्तै जस्तै लाग्यो।

हामीहरु लगेज लिनको लागि गयौं, तर कस्तो अचम्म हाम्रो सामान आएकै छैन। धेरैवेर पर्खियौं तर पनि सामानहरु आएन्, माकी चिन्ता गर्न लागिन्, मलाई के गरुँ,गरुँ भयो। यहाँ सामान हराउन सक्छ, ससुरा चिन्तित देखिए। अनि हामीहरु स्टाफलाई सोध्न दौडियौं। केही छिनमै एउटा स्टाफ आएर केहिपर तिनवटा सुट्केशहरु त्यसै राखिएको छ, भनेर भन्यो।

हामी हाम्रो हो कि भन्दै त्यतैतिर दौडियौं। सुट्केशहरु त हामै्र रहेछ। कसले त्यहाँ राखेछ थाहा पाएन। बल्ल आक्तिएको मनमा सान्त्वना छायो। मैले लामो श्वास फेरें। एयरपोर्ट बाहिर हामीलाई लिन तोसेको र खाच्याङ आएको रहेछ। खाच्याङसँग मेरो परिचय गराइयो, एउटा जापनिज ब्राजिलियन। तर ऊ कुनै कोणवाट पनि ब्राजिलियन देखिदैनथ्यो।

अनुहार डिल डौल सवै जापनिज अनि भाषा पनि जापानी। त्यहाँ केहिवेर बसेर चिसो बियर लियौं। पहिलोचोटी ब्राजिलको भूमिमा पाइला टेक्दा मन अनौठो किसिमले धड्किरहेको थियो। ‘सानपाउल’ ब्राजिलको औद्योगिक शहर रहेछ। ठूला ठूला गगन चुम्मि घरहरुभएको ठूला ठूूला बाटाहरु निकै बिकसित देखिन्थे। म ट्याक्सीबाट बाहिर तिरको फोटो खिच्नमा ब्यस्त थिएँ।

ससुरा ट्याक्सी ड््राइभरसंग पोर्चुगल भाषमा कुरा गर्दे थिए। सायद धेरै बर्ष यो ठाऊँमा बसेको भएर रामै्रसंग कुरा गर्न सक्दा रहेछन्। ड्राइभर पनि हरेक ठाउँको बिवरण दिँदै ट्याक्सी दौडाइरहेका थिए । म चाहिँ केही नबुझेर सिर्फ बाहिरतिरको दृष्य हेर्दे क्यामरामा कैद गर्दे थिएँ। करिव ४५ मिनेटको सफरपछि हामी गिन्जा नाम गरेको होटलमा पुग्यौं। जापानी नामबाट खोलिएको यो होटल एउटा चाइनिजको रहेछ।

यहाँ प्रायः जापानीज पर्यटक बढी आउने भएर होटलकोे नाम पनि जापानीजमा राखेको रहेछ। रातको समयमा डिनरलिन हामीहरु एउटा चाइनिज रेष्टुरेन्टमा गयौं। फर्कदा खेरि करिब ९बजेको थियो। यहाँको ठाउँ अलिडरलाग्दो छ भनेर तोसीको भन्दै थिइन्। किनकी यो ठाउँमा क्राइम निकै हुँदोरहेछ। विशेष गरेर जापानी पर्यटकहरुलाई सजिलैसँग लुट्दा रहेछन्।

माकी निकै सर्तक भएकी थिइन्। ठाउँ पनि त्यस्तै–त्यस्तै दिल्लीको गल्लि जस्तै थियो। सानपावलबाट जनवरी ६ तारीखमा ४.४० को फ्लाइटबाट यो युवा भन्ने ठाउँमा आएका थियौं प्लेन करिव २ घण्टाको सफर त्यसपछि कारबाट त्यस्तै करिव २,३ घण्टामा हामी यो ‘यूवा’भन्ने ठाउँमा आइपुग्यौं। साँच्चै मलाई त सानपावलको त्यो एयरपोर्टको अहिले पनि सम्झना आइरहेछ।

भन्न त त्यो पुरानो एयरपोर्ट रे, तर निकै आधुनिक जस्तो लाग्यो। मलाई कता कता अमेरिकाको एयरपोर्ट हो कि भान भएको थियो। हुन त यो पनि साउथ अमेरिका नै हो नि। एयरपोर्टमा केहि फोटोहरु खिचेका थियौं। प्लेनबाट तल हेर्दा साह्रै रमाइलो लागेको थियो। साच्चै नै ब्राजिल निकै ठूलो रहेछ ।

हुन पनि जापान भन्दा विसौं गुना ठूलो छ रे नेपाल भन्दा त कति हो कति? समतल फैलिएको आँखाले भ्याउने सम्मको समतल भू–भाग। संसारको सबभन्दा ठूलो ‘आमासोन’जंगल पनि यहि नै रहेछ। तर बिकासको आधारमा यो देश उत्तर अमरिका भन्दा कम नै रहेछ। यहाँको मुद्रालाई ‘रियर’भन्दा रहेछन्। करिव २ रियरको १ अमेरिकी डलर रहेछ।

हामी अहिले यूवा कम्यूनिटीमा छौं, जहाँ करिब ८० वर्ष अगाडि युवा इसाम नाम भएको जापानीज आफ्नो परिवार तथा केही साथीहरुसँग जापानको कोबे भन्ने ठाउँबाट महिनौं लगाई जहाजबाट आएका रहेछन्। यहाँ आएर अरु जापनीजहरुसंग मिलेर करिव १०० हेक्टर जमिन किनेर एउटा सानो गाउँ नै बनाएका रहेछन्। जहाँ पहिले जंगल थियो।

जंगललाई फाँडेर वस्ती बसाएका रहेछन्। तर अचम्म लाग्दो कुरा के रहेछ भने यसलाई गाऊँ भन्न अलि मुस्किल पर्छ किनकी सवैजना मिलेर एकै ठाउँमा खाना खान्छन् अर्थात सवैको भन्छा एउटै। जापानीज ब्राजिलीयनको कम्यूनिटी। करिव ८० वर्षदेखिको यो चलन अझैसम्म पनि कायम नै छ। करिब २० परिवार छ। यहाँ स–साना घरहरु छन्। कृषिमा निर्भर छन्।

लाग्नेमान्छेहरु बाहिर खेतमा काम गर्छन्। हरेक कुरा आफैं बनाउँछन्। कसैको घरमापनि ताला लाग्दैन। सैजना मिलीजुली काम गर्छन्। अनि सवैजनाको भान्छा एउटै। एकै प्रकारको खाना सबैजनाले खान्छन्। बिहान करिव ६ बजे ब्रेकफस्टको समय हुन्छ। त्यसबेला साइरन बजाउछन्।

यो चाँहि शायद गाईको सिँङ रहेछ। मैले पनि एकचोटी फूकी हेरेको थिए। साइरनको आवाज सुनेपछि सवैजना उपस्थित हुन्छन्। त्यस्तै दिनको १२ बजे लन्च टाइम र साँझको ६ बजे डिनर हुँदो रहेछ। यसरी सबैजना उपस्थित भई सँगै खाना खान्छन्। लाग्छ सधैं भोज पार्टी झैं। यो करिब ८० बर्षदेखि निरन्तर चलिआएको छ।

सुन्दा पनि विश्वास गर्न गाह्रो आजको समयमा ३,४ जना त मिलेर बस्न सक्क्तैन भने यनहाँ भने अचम्मै छ। साँच्चै कसरी मिल्न सकेका होला आजको मान्छे आफ्नै परिवार त मिलेर बस्न गाह्रोमा याहाँ भने धेरै परिवार मिलेर बसेकाछन्। बास्तबमा हामी त्याहाँ टोसीको बिँहेको लागी आएका थियौं, यही कम्यूनिटीको एकजना यूवकसँग टोसीको प्रेम बसेको रहेछ।

करिब २ बर्ष अगाडी उनी याहाँ अर्थात ब्राजिलमा जापानीज भाषा पढाउन भनेर आएकी थिइन्। शायद त्यसबेला यस्तो कम्यूनिटीकोबारेमा सुनेर बेलाबेलामा यहाँ आउने गर्थिन्। यसरी आउँदाजाँदा खाच्याङ्ग(इसामु यूवाका भतिजा)संग मायाप्रिति बसेछ। तर अचम्म कस्तो भने कहाँ टोकियो जस्तो अति बिकसित शहरको केटी यस्तो ठाउँमा बस्ने निर्णय गरेर बिबाहको लागी तयार भइन्।

१३ जनवरीमा टोसीको बिहे सम्पन्न भयो। बिहान ५.३० बजेदेखि नै माकी उठेर तयार भएकी थिइन तर म भने ६ बजे मात्र उठेर नुहाई–धुवाई गरेर तयार भएँ। हामीसबै बिहे हुने ठाउँमा जम्मा भएका थियौं। बिहे  क्रिश्चियन बिधिबाट सम्पन्न भयो। टोसीको सेतो ड्रेसमा सजिएकी थिइन्। उमेरले चालिस कटेपनि सुन्दर देखिन्थिन्।

नेपालमा भए मुश्किलले हुन्थ्यो चालिस कटेपछि बिबाह गर्न। टोसीको बाबुले टोसीलाई लिएर आयो। दुलाह–दुलहीसँगै राखी पादरीले केहि मन्त्र पढ्यो। जापानी भाषामा सबैले गाना गायौं। त्यसपछि औठी साटासाट भयो। एकले अर्कालाई लगाई दियो।

करिब एक घण्टाको अवधीमा बिहे सम्पन्न भयो ।सबैले ताली बजाएर स्वागत गर्यौं। त्यसपछि नबदम्पतीलाई सवैले अछेता छर्किएर स्वागत गर्यौं। सवै नातेदारहरु एक अर्कामा शुभ–कामनाको आदानप्रदान भयो। अनि सवैले हसिलो मुद्रामा फोटोहरु खिच्यौं।

यसरी टोसीको बिहे सम्पन्न भएको थियो। टोकियोको एउटी पढेलेखेकी युवती ब्राजीलको एउटा जापानीज कम्यूनिटीमा बसेको एउटा किसान युवकसँग मायाप्रितिले बिवाह बन्धनमा बाँधिन राजी भइन् अझ भनैं त्यस कम्यूनिटीको सदस्य भएर बस्ने अठोट गरिन्।

हुन त प्रेमले मानिसलाई जस्तै परिस्थितिमा पनि खुसी भई बाँच्न सिकाउँछ। हामीहरु यहाँ आएको भोलिपल्ट एकजना कम्यूनिटीको मेम्बर जो ९२ बर्षको थियो उनको देहान्त भएको थियो। देहान्त भएको एकदिन पछि क्रिश्चियन बिधिद्धारा लाशलाई दफन गरेको थियो। त्यसमा म पनि सरिक भएको थिएँ।

यसरी हरेक कार्यलाई यस कम्यूनिटीले महत्वको साथ सम्पन्न गर्दौ रहेछ। एउटा सानो जापान अर्थात प्राचिन जापानको झल्को दिने यस कम्यूनिटीमा तेरो मेरोको टण्टाबाट मुक्त छ। यहाँसबैजनामा हाम्रो भन्ने भावना बिकसित भएको छ। सवैैजना जापानीज भाषा नै बोल्छन्। आफ्नो संस्कार,कल्चरलाई जोगाई राखेको छ।

यहाँ बस्दा मलाई कहिल्यै पनि ब्राजिलमा छु भन्नै आभाष भएन। स–साना भुइतल्ले घरहरु देखेर मलाई त चितवनको जंगल सफारीको लजहरु जस्तै लाग्यो। सबैजना मिलीजुली काम गर्छन्। सबैजना एउटै घरको परिवार झैं लाग्छ। प्रायःजसो यूवाबर्ग र प्रोढको उक्तिकै जिम्मेवारी छ। यहाँ सवै भन्दा सानोमा करिव ३ वर्षको बच्चा र सबभन्दा प्रोढमा करिव १०२ बर्षको बुढा पनि छन्।

जनवरी १३ तारीखको साँझ बिहे पार्टी पनि निकै रोचक थियो। साह्रै रमाइलो भएको थियो। पार्टीमा एउटा मन्च बनाएको थियो। त्यहाँ बिबिध किसिमको प्रोग्रामहरु गरेको थियो। मलाइ पनि सबैले अनुरोध गरेको भएर एउटा नेपाली गीत गाएको थिएँ। ‘..रेशम फिरिरि..रेशम फिरिरि….!’भन्ने सबैले रेशम फिरिरि..। भन्दै साथ दिए।

गाना सकिना साथ सबैले जोडदार तालीले स्वागत गरें। मलाई अत्यन्त खुसी लाग्यो ब्राजिल गएर नेपाली गीत गाउँन पाएकोमा । सबैजना नेपालबाट आएकोमा आश्र्चयमिश्रित भावमा हेर्थे। जे होस नेपाललाई सबैले चिन्दो रहेछन् सगरमाथाको देश भनेर। त्याहाँ एक जना पादरीकी श्रीमती थिइन जो बिहेको लागी भनेर केहि दिन अगाडी देखि बसिरहेकी थिइन्।

पादरी चाहिँ जापानिज तर तिनी भने ब्राजिलियन जापानिज, अग्रेजी केहि पनि नबुझने । मसंग परिचय भएको थियो तर कस्तो अप्ठ्यारो भने तिनीसंग कुराकानी गर्नै गाह्रो। सँगै बसेको उनको श्रीमानले हाम्रो विचमा भाषाको मध्स्तकर्ता भए मात्र कुराकानी अलिअलि हुन्थ्यो।

तर तिनी खुवै फरासिली रहिछन्। सधैं मलाई देख्यो कि ब्राजिलीयन भन्ने ठानेर झूक्किने रहिछन्। त्यसैले देख्ना साथ ‘बोन्जिवा’(ब्राजिलीयन भाषा हलो नमस्ते जस्तै हो) भन्दै कुरा गर्न अघि सर्थिन्, अनि के भन्थिन म बुभ्न नसकेर टोलाईरहन्थे।

एकैछिन पछि म नेपाली भन्ने सम्झना आउँथ्यो कि के हो हाँस्दै एकातिर लाग्थिन्। हो त्याहाँ धेरैले मसँग ब्राजिलीयन भाषा बोल्न कोसिश गरेका थिए। सायद म ब्राजिलीयन जस्तै देखेर हो कि जो पनि बोल्न अघिसर्थे।

मलाई भने खुवै हाँसो लाग्दथ्यो। करिव दुई हप्ता त्यस कम्यूनिटीमा बसेर हामीहरु ‘इगासु’भन्ने ठाउँमा आइपुग्यौं। यूवाबाट गाडीमा करिव १० घण्टामा ‘कासाकाभेऊ’भन्ने ठाउँमा आयपुगेका थियौं एकरात एउटा जापानिजको फर्महाउसमा रात बिताएका थियौं।

साच्चै नै ब्राजिल धेरै नै ठूलो फराकिलो लाग्यौं। जमिनले आकाश छोएको जस्तो भान हुँदोरहेछ टाढा क्षितीजसम्म हेर्दा। टोसीको भन्दै थिइन् ‘यहाँ समथर जमिन मात्र भएकोले भुकम्प कहिल्यै जाँदैन रे।’त्यसैले सिटी एरियामा ठूला ठूला गगनचुम्वी भवनहरु देख्न सकिन्छ, अर्को अचम्मको कुरा यहाँ पनि झुपडपठ्ठिरहेछ।

जहाँ सुकुम्वासीहरु बस्दो रहेछन्। इण्डियाको झुपडपठ्ठिझैं लाग्यो मलाई। यहाँ धनिमा धेरै धनि अनि गरिवमा धेरै गरिव पनि रहेछन्। यो इगासु भन्ने ठाउँ पनि धेरै नै राम्रो रहेछ । याहाँ बढी पर्यटकहरु आउने रहेछन्। मौसम पनि ठिक्कको न जाडो न गर्मी। जापानमा भैदिएको भए जनवरीको महिनामा निकै जाडो हुन्थ्यो तर ब्राजिलमा यसको विपरित गर्मी थियो।

हामीहरु एउटा चाइनिज रेष्टुरेन्टमा लन्च लिइवरी यहाँ भएको ‘इटाइपु’ड्याम हेर्न गयौं। जुन ब्राजिलको अति प्रसिद्ध ड्यामरहेछ। यसको अवलोकन गर्न नै विभिन्न देशको पर्यटकहरुको आहिरो लाग्दो रहेछ। साँच्चै गजवको ठूलो रहेछ त्यो ड्याम म त अचम्मै परें। सवै देशको पर्यटकहरुको लिस्ट रहेछ, यो ड्याम हेर्न आएकाहरु कुन देशबाट कति आएछन् भन्ने।

सवेैजना लिष्ट हेर्नमा तल्लिन थिए। मैले पनि नेपाललाई खोजें। म ३७ औं नेपालीमा परेछु, त्यो ड्याम हेर्नमा खुसी लाग्यो। त्यसपछि हामी होटल आइपुग्यौं। राति ८ बजे फेरि पनि उक्त ड्याम हेर्न पुग्यौं। रातमा उक्त ड्याममा ‘इब्यूमेशन’हेर्नको लागि निकै पर्यटक जम्मा भएका रहेछन्। कुनै गायकको कन्र्सट झैं लाग्यौं। अति रमाइलो अनुभव भयो। सबै जना म्यूजिकको तालमा मस्त देखिन्थे।

त्यसको भोलिपल्ट हामीहरु अर्को प्रसिद्ध स्थल ‘इगासुफल’भन्ने ठाउँमा पुग्यौं। ‘इगासुफल’देखेर झनै आश्र्चयचकित हुन पुगें। कति ठूलो झरना चारैतिर झरना बाहऽऽऽ! कस्तो प्राकृतिक सौन्दर्य साच्चैं ब्राजिल पनि प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेछ। धेरै फोटोहरु खिच्यौं। मेरो लागि यो ठाउँ साँच्चै अविश्मरणिय भयो।

अहिले सम्झदै छु ‘युवाकम्यूनिटी’को एक मेम्वर मासाकाचु यासाकीले भनेको वाक्य–‘तिम्रो देश नेपालमा हिमालहरु धेरै छन् त्यस्तै हाम्रो देशमा झरनाहरु धेरै छन्।’ धेरै पर्यटकहरु आउँदा रहेछन् यो अलौकिक तथा बिशाल झरनाको अवलोकन गर्नको लागि।

करिव निी घण्टा त्यही बिताएर हामी होटल फर्कियौं। २२ जनवरीमा हामीहरु रियो द जेनेरियो भन्ने ठाउँमा पुग्यौं। इगासुफल शहरबाट जहाजमा करिब २ घण्टा लाग्दो रहेछ। रियो द जेनेरियो भन्ने शहर कस्तो होला भन्ने मनमा खुल्दुली लागिरहेको थियो।

२२ जनवरी देखि हाम्रो शफरमा दुईजना घट्यो। टोसीको र खाच्याङ् किनकी उनीहरु युवाबाट आएकै गाडीमा फर्के। सानपावलबाट ‘युवा कम्यूनिटी’मा पुगेका थियौं। इगासुफलमा २ दिन बिताएर यो रियो द जेनेरियो भन्ने ठाउँमा आइपुग्यौं। एयरपोर्टबाट होटलसम्म आइपुग्न ट्याक्सीमा करिव ४० मिनेट लाग्यौं। ट्याक्सीबाट रियो द जेनेरियोको शहर अवलोकन गर्दे आइपुग्यौं।

साच्चीकै यो शहर त निकै आधुनिक रहेछ। पर्यटकीय शहरको रुपमा प्रसिद्ध कमाएको यो शहरले मलाई निकै आकर्षित गर्यो। बाटोमा हेर्दे जादाँ काठमाडौं झल्काउने वस्ति पनि देखें। अचम्म लाग्दो किनकी काठमाडौको बस्ति झैं लाग्यो रे !माकीको बुबा ड्राइभरसँग कुरा गर्दै थिए। ड्राइभर भन्दै थियो ‘त्यो त ब्राजिलको सुकुम्बासीहरुको घर रे ’क्या अचम्म! २३ तारीखको बिहान ब्रेकफास्ट पछि हामीहरु पोनोडेमाक्सा भन्ने ठाउँमा पुग्यौं।

धेरै ठूलो चट्टानको माथीपट्टी रोप वे बाट जान पर्दो रहेछ । एकदमै रमाइलो भयो। त्यसपछि हामी कोरुकावाद भन्ने ठाउँमा पुग्यौं धेरै ठूलो करिब ७०० मिटरको चट्टान माथि अति नै ठूलो विशाल क्रिष्टको मूर्ति । म त गजवै भएँ। कस्तो अविश्सनीय, कसरी बनाए होलान्? मान्छेले नै बनाएका त होलान् मनमनै सोचें। कस्तो अलौकिक दुई हात फैलाएको।

क्रिष्टको मूर्तिको केही फोटोहरु खिच्यौं। पर्यटकहरुको भिड थियो। साच्चै नै रियो द जेनेरियो आर्कषक शहर रहेछ। जिवनमा पहिलो चोटि समुन्द्रको छालसंग खेल्ने मौका पाएँ। होटल नगिचैको समुन्द्रमा दिउँसो छालसंग खेल्दा साह्रै नै रमाइलो भएको थियो। ठूला–ठूला छालहरु आउँँदा रहेछ रत्यहि छालसंग मानिसहरु खेल्दा रहेछन्।

किनारामा मानिसहरुको भिड । हुन त जापानमा पनि समुन्द्र त हेर्न पाएको थिएँ, तर याहाँ छालसंग लुकामारी खेल्ने मौका पाएँ। मन हर्षले बिभोर भयो। राति ‘साम्वा’डान्स हेर्नको लागी टिकट बुक गरेकाथियौं। ब्राजिलको निकै प्रसिद्ध यो साम्वा डान्स ब्राजिलको परिचय पनि रहेछ। फेब्रुबरी तिर यो डान्सको उत्सव नै हुँदोरहेछ।

बिभिन्न किसिमको पहिरनहरु लगाई सडकमा डान्स गर्दा रहेछन्। हाम्रो भक्तपुरको विस्केट जात्रा झैं । मानिसहरुको निकै जमघट हुँदोरहेछ। ब्रजिलियनहरुले एउटा पर्व झैं मनाउँदा रहेछन्। होटल भन्दा करिब १० कि.मी पर टुरिष्टबसमा गएका थियौं। बिभिन्न देशका पर्यटकहरु थिए। पहिले डिनर लियौं, त्यसपछि स्टेजमा साम्बा डान्स हेर्यौं। अति नै आर्कषण पहिरण साच्चै नै अति नै रोमान्चकारी रहेछ यो साम्बा डान्स त।

अन्त्यमा आयोजक देशहरुको नाम लिदैं त्यस देशका पर्यटकहरुलाई स्टेजमा नृत्य गर्न बोलाए। अमेरिका,जापान,जर्मन,चाइना,सवैं खुसी हुँदै हात उठाउँदै स्टेज तिर लम्किए। मेरो मन ढुकढुक भयो, नेपाल पनि भन्लाकि भन्ने आशा पलायो। स्टेजमा गएर नृत्य गर्ने इच्छा जाग्यो, तर अफसोच नेपालको उच्चारण नै आएन्। हाम्रो जस्तो गरिव देशलाई कसले संझन्छ र?

करिब ३ दिन बसेर हामी फेरि रियो द जेनेरियोबाट करिव एकघण्टाको प्लेनको सफरबाट सानपावल आइपुग्यौं। सानपावलमा एकरात बसेर २६ जनवरीमा ब्राजिलको भूमि छाड्यौं। सानपावलबाट रातीको करिब ९ बजे प्लेन उडेको थियो।

आकाशबाट म सानपावल शहर अवलोकन गर्दै थिए। रातको समय थियो, तर शहर पुरै झिलिमिलि थियो। ठूला–ठूला गगनचुम्बि घरहरु समतल फैलिएको बाटाहरु हेर्दै म सोचिरहेको थिएँ ब्राजिलको भ्रमण मेरो लागी साँच्चिकै अविश्मरणीय भयो। अब यहाँ अर्को चोटी आइँदैन होला त्यसैले मनमनै भने गुडवाई ‘ब्राजिल’ !!

हालः टोकियो, कामिनोगे,जापान

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *