हावामै बदलिन सक्छ ट्रम्पको जहाजको कलसाइन, आणविक कोड साथमा लिएरै जान सक्छन्
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा निर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोहमा सहभागी नहुने बताइसकेका छन् । राष्ट्रपतिका रुपमा कार्यकालको अन्तिम दिन राष्ट्रपतिले के गर्छन् भन्ने प्रश्न छैन तर यस विषयमा अनुमान गर्न थालिएको छ । सम्भवतः उनले त्यस दिन फ्लोरिडामा एउटा र्याली गर्न सक्छन् वा उनी स्कटल्याण्डमा रहेको आफ्नो गल्फ क्लवतर्फ जान सक्छन् ।
ह्वाइट हाउस सूत्रका अनुसार ट्रम्प फ्लोरिडास्थित मार ए लागो रिसोर्ट जान सक्छन् । यसका लागि ट्रम्पले आफ्नो बोइङ ७५७ को प्रयोग गर्नेछन् । यदि उनको विमान जो बाइडेनले शपथ ग्रहण गर्नुभन्दा पहिले उड्यो भने यसलाई एयरफोर्स वनको स्थानमा एक्जिक्युटिभ वनको कलसाइन दिइनेछ । यदि ट्रम्प हावामा रहँदा नै बाइडेनले शपथ ग्रहण गरे भने हावामा रहेकै बेला विमानको कल साइन परिवर्तन गरेर सामान्य नागरिक विमानको कलसाइनमा परिवर्तन गरिनेछ ।
यस्तो घटना १९७४ मा पनि भएको थियो । त्यतिबेला राष्ट्रपति रिचर्ड निक्सन पनि बोइङ ७०७ विमान चढेर वाशिङटनबाट उडेका थिए । उनी क्यालिफोर्निया जाँदै थिए । निक्सन हावामा छँदै गेराल्ड फोर्डले राष्ट्रपतिको शपथ ग्रहण गरेपछि निक्सनको विमानको कलसाइन सामान्य नागरिक कलसाइनमा बदलिएको थियो ।२०१६ मा राष्ट्रपति पदको शपथ लिन जाने क्रममा ट्रम्पको निजी विमानलाई टाइसन १ कलसाइन दिइएको थियो ।
अमेरिकामा निवर्तमान राष्ट्रपति नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी हुने चलन छ । नयाँ राष्ट्रपतिले शपथ ग्रहण गरेर आफू पदमुक्त भएपछि राष्ट्रपति अन्तिम पटक एयरफोर्स वन चढेर आफ्नो गन्तव्य जान्छन् । पछिल्लो समय निवर्तमान राष्ट्रपति र प्रथम महिला हेलिकप्टर चढेर क्यापिटल हिल पछाडि ज्वाइन्ट बेस एन्ड्रयुज पुग्छन् । यो उडान ५ मिनेटको हुन्छ ।
एन्ड्रयुज पुगेपछि पूर्व राष्ट्रपति र प्रथम महिलालाई सैन्य सम्मान गार्ड अफ अनर दिइन्छ । पूर्व कर्मचारी, मित्र र अन्य व्यक्तिहरुले बधाइ दिन्छन् । पूर्व राष्ट्रपति बाराक ओबामा यो सैन्य सम्मानपछि क्यालिफोर्नियाको लागि उडेका थिए । उनको विमानलाई कल साइन स्याम ४४ दिइएको थियो ।
यदि अहिले ट्रम्प बाइडेनको शपथ ग्रहणभन्दा पहिल्यै निस्किए भने उनीसँग विशिष्ट सुरक्षा हुनेछ । यो सुरक्षा सधैं यात्राको क्रममा राष्ट्रपतिसँग हुन्छ । परमाणु हतियार नियन्त्रित गर्ने ब्रिफकेस ‘न्यूक्लियर फुटबल’ पनि उनको साथमै हुनेछ । सूत्रका अनुसार ह्वाइट हाउसको सैन्य कार्यालयले बाइडेनको लागि अर्को न्यूक्लियर फुटबल तयार गरिसकेको छ । शपथ ग्रहणपछि बाइडेनसँग हुने नयाँ ब्रिफकेस सक्रिय हुनेछ र ट्रम्पसँग भएको पुरानो ब्रिफकेस निष्क्रिय हुनेछ ।







डिसी नेपाल







Facebook Comment