‘अश्लील केक’ बनाएको आरोपमा इजिप्टमा महिला पक्राउ

डिसी नेपाल
७ माघ २०७७ ९:०७
224
Shares

बीबीसी। इजिप्टमा एकजना महिलालाई ‘अश्लील केक’ बनाएको आरोपमा केही बेर पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। ती केकका माथिपट्टि राखिएका फोन्डेन्ट आइसिङ्मा यौनाङ्ग तथा भित्री वस्त्र जस्ता देखिने आकृति रहेका थिए र राजधानी कायरोको एउटा स्पोर्ट्स क्लबमा आयोजित जन्मदिनको समारोहमा सो केक खाइएको थियो।

त्यसको फोटो भाइरल भएपछि बेकरलाई पक्राउ गरिएको थियो। उनलाई ३१९ डलरको जमानतमा पछि रिहा गरियो। सो जन्मदिनको समारोहमा उपस्थितहरूमाथि पनि कानुनी कारबाही हुनसक्ने ठानिएको छ।

एउटा उच्च धार्मिक निकायले त्यस्ता सामग्री इस्लामले वर्जित गरेको जनाएको छ। दार अल-इफ्ताले फेसबुकमा टिप्पणी गर्दै यौन झल्काउने सामग्रीहरू ‘समाजको मूल्यमान्यतामाथि प्रहार’ भएको जनाएको छ।

त्यहाँको युवा तथा खेलकुद मन्त्रालयले क्लबमा भएको निजी समारोहबारे छानबिन गरिरहेको बताइएको छ। मानव अधिकारसम्बन्धी वकिल नेगाद एल बोराइले उक्त घटनाले राज्यको सहयोगमा अनि इजिप्टको पारिवारिक मूल्यमान्यताको बहानामा समाजमा एउटा तप्का व्यक्तिगत स्वतन्त्रता हनन गर्न उद्यत रहेको उजागर गरेको टिप्पणी गरेका छन्।

उनले टिकटक तथा अन्य सामाजिक सञ्जालमा राखिएका भिडिओहरूलाई लिएर इजिप्टका कैयन् युवतीहरूमाथि नैतिकतासम्बन्धी अपराध गरेका आरोपहरू लाग्ने गरेका घटनासँग पछिल्लो घटनालाई जोडेर हेर्नुपर्ने बताए।

गत मङ्गलवार एउटा पुनरावेदन अदालतले सामाजिक सञ्जालमा प्रभावशाली रहेका दुईजना – २० वर्षीया हनीन होसाम र २२ वर्षीया मवादा अल-अदाम – लाई सुनाइएको दुई वर्षको कैद सजाय उल्ट्याइदिएको थियो।

‘अश्लील’ फोटो तथा भिडिओ राखेर पारिवारिक मूल्यमान्यतामा खलल पार्न खोजेको आरोप उनीहरूमाथि लगाइएका थिए। अभियोजनकर्ताले उनीहरूमाथि आफ्नो जस्तै भिडिओ राख्न उक्साएर अन्य किशोरीहरूको शोषण गर्न खोजेको पनि आरोप लगाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *