ह्वाइट हाउसबाट बाहिरिँदा मेलानियाको मुस्कान ! के ट्रम्पको बर्बादी सुरु भएको हो ?

डिसी नेपाल
८ माघ २०७७ १२:१८
1.9k
Shares

काठमाडौं। डोनाल्ड ट्रम्प अब अमेरिकी राष्ट्रपति रहेनन् । उनको ४ वर्षको कार्यकाल हिजो पूरा भएको छ । यससँगै ट्रम्प ह्वाइट हाउसबाट बाहिरिएर आफ्नो फ्लोरिडास्थित मार ए लागो रिसोर्ट गएका छन् । ह्वाइट हाउसबाट बहिर्गमनसँगै उनीहरुको अन्तिम झलकलाई लिएर विभिन्न किसिमका अड्कलबाजीहरु गर्न थालिएका छन् । केहीले अब डोनाल्ड ट्रम्पका लागि संकटका दिनहरु सुरु भएको विश्लेषण गरेका छन् ।

ह्वाइट हाउसबाट बाहिरिँदै गर्दा ट्रम्पकी पत्नी पूर्व प्रथम महिला मेलानिया ट्रम्पको ओठमा रहस्यमय मुस्कान थियो । क्यामेराअगाडि रहँदासम्म मेलानियाको ओठमा मुस्कान थियो, अनुहार हँसिलो थियो । आफ्ना पतिले चुनावमा धाँधली गरेर आफूलाई हराइएको दावी गर्दै बाध्य भएर ह्वाइट हाउस छाड्नु परेका बेला पत्नीको हँसिलो मुहारलाई लिएर केहीले उनीहरुको डिभोर्स हुन लागेको अनुमान गरेका छन् ।

केही महिनाअघि डेलीमेलले मेलानियाकी पूर्व सहयोगी स्टेफनी वोकफलाई उद्धृत गर्दै मेलानियाले ट्रम्पको ह्वाइट हाउसमा दिन गनिरहेको र ट्रम्पको हातबाट शक्ति गएसँगै ट्रम्पसँग छुट्टिने तयारी गरिरहेको बताएको थियो । निर्वाचनमा मतदान भइसकेर मतगणनामा ट्रम्पले हार्न सक्ने संकेत देखिएका बेला स्टेफनीले यस्तो खुलासा गरेकी थिइन् । ट्रम्प राष्ट्रपति पदबाट बाहिरिएसँगै मेलानियाको मुस्कानले त्यही खुसी झल्काउन खोजेको केहीले दावी गरेका छन् ।

डेली मेट्रोले एक रिपोर्टमा ट्रम्प र मेलानियाको वैवाहिक सम्बनध २०१८ देखि बिग्रिएको दावी गरेको छ । रिपोर्टमा ट्रम्पले केही वर्षअघि पोर्नस्टार स्टर्मी ड्यानियल्ससँग रात बिताएको विषयले पनि उनीहरुको सम्बन्ध बिग्रिएको दावी गरिएको छ । मेलानियाले आफ्ना १४ वर्षका छोरा बेरोनलाई ट्रम्पका अन्य सन्तानसरह ट्रम्पको विरासतमा अधिकार सुनिश्चित गर्नको लागि ट्रम्प पदबाट बाहिरिने प्रतिक्षा गरिरहेको पनि रिपोर्टमा दावी गरिएको छ ।

डेली एक्सप्रेसको एक रिपोर्टअनुसार फ्लोरिडामा विमान ओर्लिएपछि ट्रम्पले क्यामेराअगाडि उभिएर हात हल्लाउँदै गर्दा मेलानिया ट्रम्पलाई वास्तै नगरी हिँडेकी थिइन् । यो भिडियो फुटेज सार्वजनिक भएसँगै मेलानियाले ट्रम्पसँग जतिसक्दो चाँडो छुट्टिन चाहेको सामाजिक संजालमा चर्चा छ । मेलानियाको यो व्यवहारले पनि उनीहरुको सम्बन्ध बिग्रिएको पुष्टि गरेको सामाजिक संजालमा दावी गरिएको छ ।

मनोवैज्ञानिक ब्रुस डर्हामले भने ट्रम्प र मेलानिया छुट्टिन लागेको नभइ उनीहरुमा शक्तिको विषयमा ठूलो परिवर्तन हुन लागेको र मेलानिया शक्तिकेन्द्र बन्न लागेको दावी गरेका छन् । बडी ल्याङग्वेजका विशेषज्ञ मानिने डर्हामले डेली मेट्रोसँग कुरा गर्दै ट्रम्प र मेलानियाको पछिल्लो बडी ल्याङग्वेजले राष्ट्रपति पद गएपछि मेलानियासँग ट्रम्पसँग भन्दा बढी शक्ति हुने देखिएको बताएका छन् । मेलानियाले ट्रम्पभन्दा शक्तिशाली भएर ट्रम्पलाई नियन्त्रणमा राख्न सक्ने उनको विश्लेषण छ ।

ट्रम्पसँग अहिले राष्ट्रपति पद छैन । यससँगै उनीमाथि थप संकट पनि छ । कार्यकालको अन्तिममा कैयौंलाई माफी दिँदै गर्दा ट्रम्पले आफू र आफ्नो परिवारलाई माफ गरेनन् । यद्यपि उनले यस विषयमा विचार गरिरहेको केही रिपोर्टमा दावी गरिएको थियो । पदमा नभएसँगै अब ट्रम्पमाथि आपराधिक अभियोगमा कानुनी कारवाही गर्न बाटो खुलेको छ ।

अमेरिकाको संविधानअनुसार पदमा रहेका बेला राष्ट्रपतिमाथि आपराधिक मुद्दा चलाउन मिल्दैन । तर, पदबाट बाहिरिएपछि भने त्यस्ता मुद्दा चलाउन मिल्छ । रिपोर्टमा ट्रम्पमाथि यस्ता कैयौं मुद्दाहरु पर्खाइमा रहेको र पदबाट हटेसँगै ती मुद्दा चल्न सक्ने दावी गरिएको छ । यी मुद्दाहरुमध्ये केही गम्भीर छन् जसमा दोषी ठहरिए ट्रम्पले ठूलो आर्थिक क्षतिका साथै जेल जानुपर्ने समेत हुन सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *