अध्यक्ष तिमिल्सिनाद्वारा रसुवागढीको अवलोकन

रासस
१० माघ २०७७ २२:२८

रसुवा । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज रसुवागढी क्षेत्रको अवलोकन गरेका छन् । स्तरोन्नति भइरहेको गल्छी–स्याफ्रुबेँसी राजमार्गको स्थलगत निरीक्षणका क्रममा शुक्रबार यहाँ आएका उनले राजमार्ग आसपासमा निर्माणाधीन विकास आयोजनाको समेत स्थलगत निरीक्षण गरेका थिए ।

उनले ऐतिहासिक रसुवागढी सीमा क्षेत्रमा निर्माणाधीन एकीकृत भन्सार भवनको अवलोकन गर्नाका साथै नेपाल–चीनबीच सामान आयातनिर्यातको अवस्था तथा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले निर्माण गर्दै गरेका संरचना एवं कार्यप्रगतिका बारेमा समेत जानकारी लिएका थिए ।

भौगोलिक विकटता र पूर्वाधारका संरचना निर्माण हुँदै गर्दा असहज अवस्था र वर्षायाममा आइपर्ने जोखिमसमेतलाई पर्वाह नगरी सीमा क्षेत्रमा बसेर सेवा दिइरहेका राष्ट्रसेवक कर्मचारी एवं सुरक्षाकर्मीको उनले प्रशंसा गरेका थिए ।

रसुवागढी क्षेत्रको वस्तुस्थिति अवलोकनपश्चात् अध्यक्ष अध्यक्ष तिमल्सिनाले नेपाली प्राविधिकले निर्माण गरेको २२ मेगावाटको चिलिमे र नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् केन्द्रको समेत स्थलगत निरीक्षण गरेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *