जसले कोरोनासँग लड्न सवा ५ अर्ब सहयोग जुटाए, आज आफैं कोरोना र निमोनियासँग लड्दै

डिसी नेपाल
१९ माघ २०७७ १६:१०
532
Shares

काठमाडौं। सय वर्षको उमेरमा कोरोना प्रभावितका लागि सहयोग जुटाउन २५ मिटरको आफ्नो बगैंचामा हिँडेर १०० पटक परिक्रमा गर्ने बेलायती सेनाका क्याप्टेन टम मूर आफैं कोरोना र निमोनियाबाट ग्रसित भएर अस्पताल भर्ना भएका छन् । क्याप्टेन टम अस्पताल भर्ना भएको जानकारीसँगै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले उनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

दोस्रो विश्वयुद्ध लडेका क्याप्टेन टमले कोरोनाबाट अत्यन्तै प्रभावित बेलायतको स्वास्थ्य सेवा नेशनल हेल्थ सर्भिसेजको लागि आफू लगातार पैदल हिँडेर झण्डै ३३ मिलियन पाउण्ड (सवा पाँच अर्ब नेपाली रुपैयाँ) सहयोग जुटाएका थिए । उनको यो योगदानको कदर गर्दै महारानी एजिलाबेथ द्वितीयले उनलाई ‘नाइटहुड’ सम्मानबाट सम्मानित गरेकी थिइन् । क्याप्टेन टमलाई सास फेर्न समस्या भएपछि अहिले उनलाई बेडफोर्डको अस्पतालमा भर्ना गरिएको छ ।

द सनको रिपोर्टअनुसार गएराती उनकी छोरी हानाले क्याप्टेन टम केही हप्तादेखि निमोनियासँग जुधिरहेको र गत हप्ता उनको कोरोना परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको बताएकी थिइन् । हानाले क्याप्टेन टमलाई अहिले आइसीयूमा नराखिएको बताउँदै उनलाई सहज बनाउन आफूले समेजति गरेकोमा सबै स्वास्थ्यकर्मीलाई धन्यवाद दिएकी छिन् । प्रधानमन्त्री जोनसनले क्याप्टेन टमले महामारीका बेला सहयोग उठाउन चलाएको अभियानले पूरै देशलाई प्रेरणा दिएको बताएका छन् ।

परिवारका एक प्रवक्ताका अनुसार निमोनियाबाट पीडित भएका कारण क्याप्टेन टमले कोरोनाविरुद्धको खोप लगाएका छैनन् । अप्रिल ३० मा आफ्नो सयौं जन्मदिन मनाउनुअघि क्याप्टेन टमले सहयोग जुटाउने अभियानको घोषणा गरेपछि उनले पूरै देशको मन जितेका थिए । उनले आफ्नो अभियान सुरु गर्नुअघि १ हजार पाउण्ड जुटाउने भनेर अभियान सुरु गरेका थिए तर उनको अभियानमा यति धेरै मानिसहरुले सहयोग गरे कि उनले लक्ष्यभन्दा हजारौं गुणा धेरै सहयोग जुटाए । उनले कूल ३ करोड, २७ लाख ९६ हजार ३५५ पाउण्ड उठाएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *