डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनित

डिसी नेपाल
२१ माघ २०७७ १६:२९
5.7k
Shares

काठमाडौं। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनित भएका छन् । उनलाई आफ्नो कार्यकालमा कुनै पनि युद्ध सुरु नगरेको भन्दै नोबेल शान्ति पुरस्कारको लागि मनोनित गरिएको छ । एक्रे पार्टीका सदस्य ज्याक मेडिसनले आफूले पूर्व राष्ट्रपति ट्रम्पलाई मध्यपूर्वमा स्थिरता सुनिश्चित गर्नको लागि योगदान गरेकोमा नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेको बताएका छन् ।

‘डोनाल्ड ट्रम्प विगत ३० वर्षयता पहिलो यस्ता अमेरिकी राष्ट्रपति हुन् जसको कार्यकालमा देशले कुनै पनि युद्ध सुरु गरेको छैन’ संसद सदस्य समेत रहेका मेडिसनले एक फेसबुक पोस्टमा लेखेका छन् ‘बरु उनको कार्यकालमा मध्यपूर्णमा कैयौं सम्झौताहरु भए जसले मध्यपूर्वमा शान्ति र स्थिरता सुनिश्चित गर्न सहयोग गरे ।’ इजरायल र संयुक्त अरब इमिरेट्सले २०२० मा सम्बन्ध सामान्य बनाउने ऐतिहासिक सम्झौता गरेका थिए ।

मेडिसनले मनोनयन दर्ता गराउने समय सकिनुभन्दा ठिक २ घण्डा अगाडि आफ्नो मनोनयन दर्ता गराएको बताउँदै ट्रम्पलाई मनोनित गर्ने आफू निश्चित रुपमा एक्लो नभएको समेत बताए । ‘तर हामीलाई थाहा छ जति धेरैले आवेदन दिन्छन् त्यत्तिकै सफल हुने सम्भावना हुन्छ’ उनले लेखेका छन् । नोबेल शान्ति पुरस्कारका लागि मनोनयन पठाउन निमन्त्रणा पत्र आवश्यक पर्दैन तर योग्य व्यक्तिहरुबाट मात्रै कुनै व्यक्ति वा संस्था मनोनित हुन सक्छन् ।

गत वर्ष २११ व्यक्ति र १०७ संस्था गरी कूल ३१८ उम्मेदलवार मनोनित भएका थिए । नर्वेजियन नोबेल कमिटीले नोबेल पुरस्कार विजेता छनोट गर्छ । यो ट्रम्प मनोनित भएको पहिलो पटक होइन । गत वर्षको सेप्टेम्बरमा नर्वेका एक सांसदले पनि इजरायल र युएइको बीचमा ऐतिहासिक शान्ति सम्झौताका लागि ट्रम्पलाई मनोनित गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *