संसद विघटनले जटिलता निम्त्यायो, अब ताजा जनादेशः कमल थापा
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संसद विघटनले संवैधानिक जटिलता निम्त्याएको बताएका छन् । शनिबार झापाको गौरीगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले भ्रष्टाचार, बेरोजगारी, मनपरीतन्त्र, धर्मपरिवर्तन र सर्वसत्तावादी चक्रको अन्त्यको निमित्त ताजा जनादेश उपयुक्त हुने विचार व्यक्त गरे ।
राजसंस्था र हिन्दूराष्ट्र लोकतान्त्रिक एवं प्रगतिशील मान्यता भएको भन्दै उनले शासन जनताका छोराछोरीले गर्ने, अभिभावकको रुपमा मात्र राजसंस्था रहँदा मुलुकको सर्वोपरि हित हुने दाबी गरे । सबै धर्मको सम्मान हुने गरी सनातन हिन्दूराष्ट्र कायम गर्दा मुलुकको धर्म, संस्कृति, परम्परा र मौलिकताको जगेर्ना हुने थापाको धारणा थियो।
१४ वर्षको राजनीतिक अभ्यास असफल भएको भन्दै विदेशी दबाब, प्रभाव र हस्तक्षेप बढेर जानुमा स्वार्थ र शक्तिको फोहोरी राजनीतिले काम गरेको उनको भनाइ थियो । कम्युनिष्ट पार्टीभित्रको द्वन्द्व देश हित र निर्माणका निमित्त नभई कुर्सी, शक्ति र भागबण्डाको निमित्त मात्र भएको थापाको टिप्पणी थियो।
कार्यक्रममा बोल्दै राप्रपा नेता राजेन्द्र लिङ्देनले राप्रपालाई काङ्ग्रेस र कम्युनिष्टको विकल्पको रुपमा स्थापित गराएरै छाड्ने दृढता व्यक्त गरे। लिङ्देनले भ्रष्टाचार र बेथिति विरुद्धमा राप्रपाले सशक्त आवाज उठाएर जनताको माझमा जाने बताए।
कार्यक्रममा नेताहरू राम थापा, टेकनारायण राजवंशी, अम्बर बिष्ट, वासुदेव भट्टराई, बाबुराजा श्रेष्ठलगायतले सम्बोधन गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment