आफ्नो जहाजमा किमलाई चढाएर उत्तर कोरिया लैजाने ट्रम्पको चाहना, किमले मानेनन्
काठमाडौं। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका शासक किम जोंग उनलाई आफ्नो जहाज एयरफोर्स वनमा चढाएर उत्तर कोरियाको राजधानी प्योंगयांगसम्म छोड्न जान चाहेको खुलासा भएको छ । पूर्वराष्ट्रपति ट्रम्प निकट स्रोतले यसको खुलासा गरेका हुन् । ट्रम्प र किमबीच परमाणु निःशस्त्रीकरणका सम्बन्धमा फेब्रुअरी २०१९ मा भियतनामको हनोइमा भएको दोस्रो वार्ताको अन्त्यमा ट्रम्पले किमलाई यस्तो प्रस्ताव गरेका थिए ।
यो वार्तामा उत्तर कोरियालाई परमाणु कार्यक्रमबाट पछि हट्नका लागि राजी गराउन भने ट्रम्प असफल भएका थिए । तर, वार्ता विफल भएपछि त्यहाँबाट फर्किनुभन्दा पहिले ट्रम्पले किमलाई आफ्नो जहाजमा राखेर प्योंगयांग लैजाने प्रस्ताव गरेका थिए । त्यो वार्ताका लागि किम चीन हुँदै ट्रेनबाट हनोइ आएका थिए । बीबीसीको सिरिज ‘ट्रम्प टेक्स अन द वर्ल्ड’मा अन्तरवार्ता दिँदै ट्रम्पको राष्ट्रिय सुरक्षा परिषदका शीर्ष एसिया विशेषज्ञ म्याथ्यु पोटिंगरले यसको खुलासा गरेका हुन् ।
डेली एक्सप्रेसको रिपोर्टअनुसार अन्तरवार्तामा पोटिंगरले भनेका छन् ‘राष्ट्रपति ट्रम्पले किमलाई घरसम्म एयरफोर्स वनमा लिफ्ट दिने प्रस्ताव गर्नुभएको थियो । राष्ट्रपतिलाई किम कैयौं दिन लगाएर चीन हुँदै ट्रेनमा हनोइ आएको थाहा थियो । राष्ट्रपतिले किमलाई यति तिमी चाहन्छौ भने २ घण्टामा घर पुर्याइदिन सक्छु भन्नुभएको थियो ।’ तर किमले यो प्रस्ताव अस्वीकार गरेको पोटिंगरले खुलासा गरे ।







डिसी नेपाल







Facebook Comment