बोइङ ७७७ विमानको उडानमा रोक
काठमाडौं। अमेरिकी विमान निर्माता कम्पनी बोइङले सबै विमान कम्पनीहरुलाई ७७७ मोडलका विमान नउडाउन भनेको छ । गत हप्ता डेनभरमा यो मोडलको विमानको इन्जिन फेल भएको थियो । अमेरिकी नियामक निकाय फेडरल एभिएसन अथोरिटी (एफएए) ले युनाइटेड एयरलाइन्सका ती विमानको निरीक्षण गरेको थियो । लगत्तै कम्पनीले यस्तो निर्देश दिएको हो । युनाइटेड एयरलाइन्सले आइतबार यो मोडलका विमानहरुलाई अस्थायी रुपमा सेवाबाट हटाइएको बताएको थियो ।
शनिबार युनाइटेड एयरलाइन्सको विमान उडेको केही बेरमै दाहिने इन्जिनमा आगो लागेको थियो । विमानको प्रेट एण्ड ह्वीटनी ४००० इन्जिनमा आगो लागेपछि विमानलाई आपतकालीन अवतरण गराइएको थियो । विमानमा २३१ यात्रु र १० जना चालकदलका सदस्य थिए । एफएएका प्रशासक स्टिभ डिकसनले एक बयान जारी गर्दै प्रारम्भिक जाँचमा यो मोडलका पंखाको ब्लेडको निरीक्षणको बारम्बारता बढाउनुपर्ने आवश्यकता देखिएको बताए । यी ब्लेडको प्रयोग ७७७ विमानमा मात्र हुन्छ ।
जापानमा पनि यो मोडलका विमानको उडान रोक्न आदेश दिइएको छ । जापानमा यही श्रेणीको इन्जिनमा गएको डिसेम्बरमा समस्या आएको थियो । बोइङका अनुसार कूल ६९ वटा बोइङ ७७७ मोडलका विमानमा प्रेट एण्ड ह्वीटनी ४००० इन्जिन जडान गरिएको छ । अहिले यो मोडलका ११२ इन्जिन सेवामा छन् र ५९ इन्जिन गोदाममा छन् । अमेरिकाको युनाइटेड एयरलाइन्समा यस्ता २५ विमान सेवामा छन् भने जापानी विमान कम्पनीमा यस्ता ३२ विमान छन् ।







डिसी नेपाल







Facebook Comment