दुई विश्वयुद्ध र भियतनाम युद्धमा भन्दा ‘बढी अमेरिकीको ज्यान गयो’

डिसी नेपाल
११ फागुन २०७७ १७:०२
992
Shares

बीबीसी । अमेरिकामा कोभिड–१९ का कारण मृत्यु हुने मानिसको सङ्ख्या पाँच लाख नाघेको छ। अमेरिका कोरोनाभाइरसका कारण सर्वाधिक मृत्यु बेहोर्ने देश हो।

अमेरिकाको पश्चिमी तटमा पहिलो पटक कोरोनाभाइरस पाइएको एक वर्षभित्र पाँच लाखभन्दा बढीको उक्त रोगका कारण निधन भएको हो। कोरोनाभाइरस सुरुमा चीनमा देखा परेको थियो।

मृतकको सङ्ख्या पाँच लाख नाघेको कठोर क्षणलाई ह्वाइट हाउसमा मौनधारण र मैनबत्ती बालेर स्मरण गरिएको छ। त्यहाँ अमेरिकी राष्ट्रपति जो बाइडनले शोक मन्तव्य पनि दिए।

अमेरिकामा दुई करोड ८१ लाखभन्दा बढी मानिसहरू कोरोनाभाइरस सङ्क्रमित भएका छन्। कोरोनाभाइरसको सर्वाधिक सङ्क्रमण हुने देशको सूचीमा अमेरिका शीर्ष स्थानमा छ।

राष्ट्रपति बाइडनले सोमवार दिउँसो जारी गरेको आह्वानमा सबै सङ्घीय संस्थालाई आगामी पाँच दिनका लागि आधा झण्डा झुकाउन भनिएको छ।

बाइडनले ह्वाइट हाउसमा भने, ‘अहिलेसम्म भाइरसका कारण पाँच लाखभन्दा बढी अमेरिकीहरूको ज्यान गइसकेको छ। यो एक वर्षभित्र महामारीका कारण पहिलो र दोस्रो विश्वयुद्ध तथा भियतनाम युद्धमा अमेरिकाको पक्षमा भएको मानवीय क्षतिभन्दा बढी हो।’

उनले अमेरिकीहरूलाई एक हुन र महामारीलाई परास्त गर्न पनि आह्वान गरे। अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दोस्रो स्थानमा रहेको भारतको भन्दा दोबर देखिएको छ।

अमेरिकापछि ब्रजिलमा सबैभन्दा धेरै मानिसको निधन भएको छ। त्यहाँ दुई लाख ४४ हजारको कोभिड–१९ का कारण ज्यान गइसकेको छ। त्यस्तै तेस्रो स्थानमा रहेको मेक्सिकोमा एक लाख ७८ हजारको निधन भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *