पीडितको अधिकारको रक्षा गर्न भन्दै मरिसकेको लाशलाई समेत फाँसीमा झुण्ड्याइयो
काठमाडौं। पीडितले आफ्नो अधिकारको प्रयोग गर्न पाउन् भन्ने हेतुले इरानमा एक महिलाको लाशलाई फाँसीमा झुण्ड्याइएको छ । हत्याको आरोपमा मृत्युदण्डको सजाय पाएकी दोषी महिलाको मृत्युदण्ड दिनुभन्दा अगाडि नै मृत्यु भएपछि उनको शवलाई फाँसीमा झुण्ड्याइएको हो । पीडितका वकिलका अनुसार पीडितकी आमाले दोषी उभिएको कुर्सीलाई लात हानेर दोषीलाई आफैंले फाँसीमा झुण्ड्याउन पाउने अधिकारको प्रयोग गर्न सकुन् भनेर यस्तो गरिएको हो ।
जाहरा इस्माइली नामकी महिला आफ्ना पतिको हत्याको आरोपमा दोषी ठहर भएकी थिइन् । उनका पति एक इरानी गुप्तचर अधिकारी थिए । उनले जाहरा र उनकी छोरीलाई दुर्व्यवहार गर्ने गरेको बताइएको थियो । जाहराका वकिल वकिल ओमिद मोरादीका अनुसार दुई सन्तानकी आमा जाहरालाई १६ जना दोषी मानिसहरूको पछाडि लाइनमा उभ्याइएको थियो र उनलाई आफूभन्दा अगाडि रहेका दोषीहरुलाई फाँसीमा झुण्ड्याइएको हेर्न बाध्य पारिएको थियो ।
डेलीमेलको रिपोर्टअनुसार आफूअघि अरुलाई मृत्युदण्ड दिइएको हेर्दाहेर्दै इस्माइलीलाई हृदयाघात भयो र उनको मृत्यु भयो । तर, मृत्युदण्ड दिने अधिकारीहरुले उनको शवलाई समेत मचानमा लगे र पासोमा झण्ड्याए ताकि पीडितकी आमाले उनको निर्जीव खुट्टामुनि रहेको कुर्सीलाई लात हान्न सकुन् । यो सजाय किसासको शारिया कानुन (आँखाको लागि आँखा) अन्तर्गत प्रदान गरिएको थियो, जुन सिद्धान्तले पीडित वा पीडितको परिवारलाई प्रतिकारात्मक न्यायको अधिकार प्रदान गर्दछ ।
इस्माइलीलाई तेहरानबाट लगभग २० किलोमिटर पश्चिममा पर्ने काराज शहरमा बुधबारको दिन कुख्यात क्रुर राजाई शाहर जेलमा झुण्ड्याइएको थियो। मृत्युदण्डको प्रयोगमा इस्लामिक गणतन्त्र इरान चीनपछि दोस्रो स्थानमा छ। तर, इरानकै स्तरअनुसार पनि एकै दिनमा १७ जनाको सामूहिक मृत्युदण्ड हुनु अनौठो कुरा हो।
संयुक्त राष्ट्रसंघले गत वर्ष डिसेम्बर महिनाको सुरुसम्म २३३ जनालाई मृत्युदण्ड दिएको रेकर्ड गरेको थियो। यसमा तीन जना किशोर–किशोरीहरू थिए। इरानले लागुऔषध ओसारपसार लगायतका अहिंसात्मक अपराधका लागि मानिसहरुलाई फाँसी दिने काम जारी राखेको छ। सन् २०१४ मा रेहेने जबारीलाई एक पूर्व गुप्तचर अधिकारीको हत्या गरेको अभियोगमा दोषी ठहर गरेपछि उनलाई ‘हाइप्रोफाइल’ मुद्दामा फाँसी दिइएको थियो। उनले आफूलाई बलात्कार गर्न खोजेको दाबी गरेकी थिइन्। ती २६ वर्षीया महिलाको मृत्युदण्डको अन्तर्राष्ट्रिय स्तरमा ठूलो आलोचना भएको थियो ।







डिसी नेपाल







Facebook Comment