आमाले बिल्डिङको तेस्रो तलाबाट बाहिर फ्याँकेर ४ छोराछोरीको जीवन बचाइन्
काठमाडौं। एक आमाले आफ्ना ४ जना छोराछोरीलाई एउटा बिल्डिङको तेस्रो तलाको झ्यालबाट बाहिर फ्याँकेर छोराछोरीको जीवन बचाएकी छिन् । आफूहरु भएको बिल्डिङमा आगो लागेपछि ती आमाले छोराछोरीलाई बाहिर फ्याँकेकी हुन् । टर्कीको इस्तानबुलमा रहेको पाँच तले भवनको तेस्रो तलाबाट महिलाले छोराछोरीलाई फ्याँकिदिएपछि स्थानीयले तल अस्थायी सुरक्षाको रुपमा कम्बल फैलाएर तीबच्चाहरुलाई बचाएका छन् ।
तल सडकबाट खिचिएको एक भिडियोमा ती आमाले धुवाँको मुस्लो उडिरहेको बिल्डिङको झ्यालबाट छोराछोरीलाई तल फ्याँक्दै गरेको देख्न सकिन्छ । डेली सबाहका अनुसार तल कम्बलमा खसेलगत्तै सबै बालबालिकालाई एम्बुलेन्समा हालेर अस्पताल पठाइएको थियो । एक प्रत्यक्षदर्शीले डेली सबाहसँग भने ‘पहिले त कालो धुवाँ निस्क्यो। त्यसपछि, केटाकेटीहरू झ्यालबाट कराउन थाले र हामीले तल कम्बल खोल्यौं। एउटी महिलाले बच्चाहरूलाई माथिबाट तल फ्याँकिन्, हामीले चार जना बालबालिकालाई कम्बलमा थाप्यौं ।’
स्थानीय समाचार रिपोर्टअनुसार ती आमालाई पनि तत्कालै अस्पताल लगिएको थियो तर आश्चर्यजनक रुपमा परिवारका पाँचै सदस्यहरू कुनै पनि गम्भीर चोट नलागी बचेका छन् । अरू दुई जना बालबालिका र दुई जना वयस्कलाई पनि जलिरहेको भवनबाट उद्धार गरिएको छ । भवनको विद्युतीय प्यानलमा आगो लागेको र सोही आयो भवनमा फैलिएको विश्वास गरिएको छ । पछि अग्नि नियन्त्रकहरूले आगो निभाएका थिए ।







डिसी नेपाल







Facebook Comment