आठ वर्षीय बालक ‘फोर्टनाइट’का सबैभन्दा कान्छा व्यावसायिक खेलाडी
बीबीसी । अमेरिकाका आठ वर्षीय बालक जोसेफ डिन फोर्टनाइट नामक लोकप्रिय कम्प्युटर गेममा सबैभन्दा कम उमेरका व्यावसायिक खेलाडी बनेका छन्।
गत डिसेम्बरमा टिम ३३ ले उनलाई अनुबन्ध गरेपछि उनले हस्ताक्षर गरेबापत ३३,००० अमेरिकी डलर र एउटा तीव्र गतिको कम्प्युटर प्राप्त गरेका छन्। फोर्टनाइट अनलाइन खेलिने खेल हो जुन विश्वका करौडौँ मानिसहरूले खेल्ने गर्छन्। संसारभर २० करोड प्रयोगकर्ता रहेको यो खेल निःशुल्क डाउनलोड गर्न सकिन्छ।
‘मलाई अनुबन्धको प्रस्ताव आउँदा रमाइलो लाग्यो,’ उनले बीबीसीलाई भने। ‘मैले व्यावसायिक खेलाडी बन्ने विषयमा लामो समयदेखि सोचेको थिएँ तर टिम ३३ को प्रस्ताव नआउँदासम्म कसैले यो कुरालाई गम्भीरतापूर्वक लिएनन्।’
जोसेफले चार वर्षको उमेरदेखि फोर्टनाइट खेल्न थालेका थिए र १८ महिना पहिले टिम ३३ ले उनको खेलप्रति रुचि देखाएको थियो। ‘हाम्रो एक खेलाडी खोज्ने व्यक्तिले जोसेफ भन्ने बालक छ र उ निकै राम्रो खेल्छ भन्यो,’ टिम ३३ का सह–संस्थापक र प्रमुख कार्यकारी टेलर ग्यालाहारले भने।
‘त्यसपछि उनीहरूले दुई जनाबीच हुने प्रतिस्पर्धा प्रत्येक दिन सकेसम्म धेरै खेल्न थाले। एक दिन उनले भने यदि यो बालकलाई हामीले अनुबन्ध नगर्ने हो भने अरूले गर्छ भन्ने कुरा भयो।’
कम्प्युटर खेलबाट हुने आम्दानीका बारेमा जानकारी दिने वेबसाइटका अनुसार फोर्टनाइटबाट सबैभन्दा बढी कमाउने १० मध्ये दुई जना मात्रै १८ वर्षभन्दा माथि उमेरका छन्।
अहिलेसम्मको एक मात्र फोर्टनाइट विश्व प्रतिस्पर्धा सन् २०१९ मा १६ वर्षीय काइल गियर्सडर्फले जित्दै ३० लाख डलर हात पारेका थिए। जोसेफका लागि काइल गियर्सडर्फको जित प्रेरणादायक थियो।

‘उनीजस्तै खेल्ने र बन्ने मेरो सपना छ। उनलाई पनि विश्व प्रतिस्पर्धा नजितेसम्म कसैले पनि गम्भीर रूपमा लिएनन्। मलाई पनि टिम ३३ को प्रस्ताव नआउँदासम्म कसैले गम्भीरतापूर्वक लिएनन्।’
तर कम्प्युटर खेललाई वर्गीकरण गर्ने संस्थाहरूका अनुसार जोसेफ फोर्टनाइट खेल्ने उमेरका भएका छैनन्। सो खेलमा हिंसा सम्बन्धी विवरण र सामग्री भएका कारण १२ वर्षभन्दा माथिकालाई मात्र खेलका लागि योग्य भनेर वर्गीकरण गरिएको छ।
तर जोसेफकी आमा गिगिले त्यसले आफू चिन्तित नभएको बताएकी छन्। उनले जोसेफलाई विद्यालयपछि दैनिक दुई(तीन घण्टा खेल्न दिने गरेको बताइन्। ‘मैले फोर्टनाइट खेलेको हेरेकी छु र मलाई लाग्दैन हामीले गलत गरिरहेका छौँ। जोसेफ राम्रो परिवारको सन्तुलित बालक हो र यसले उसलाई असर गर्दैन,’ उनले भनिन्।
जोसेफले पियानो पनि बजाउने गर्छन्। ‘पियानो बजाउने अनुभवले मलाई किबोर्ड र माउस चलाउन सहयोग गर्यो,’ जोसेफले भने। गिगिले छोराले कमाएको पैसा उसले भविष्यमा चलाउन सक्ने गरी ब्याङ्कमा जम्मा गरिदिएको बताइन्।
जोसेफले सुपरस्टार बन्न र पैसा जित्न भने कुर्नुपर्ने छ किनभने १३ वर्षभन्दा कमका व्यक्तिले फोर्टनाइटका नगद पुरस्कार भएका प्रतिस्पर्धा खेल्न पाउँदैनन्। टिम ३३ ले उनलाई क्षमता विकास गर्न र उनलाई आफ्नो टोलीको सदस्य राखिराख्न मात्रै अनुबन्ध गरेको बताएको छ।
गिनिज बुक अफ वर्ल्ड रेकर्डस्का अनुसार जोसेफ डिन सबैभन्दा कम उमेरमा व्यावसायिक कम्प्युटर खेलको खेलाडी बन्ने खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन्।
पहिलो नम्बरमा सन् २००५ मा सात वर्षको उमेरमा व्यावसायिक बनेका अमेरिकी भिक्टर डे लियोन लिटल प्वाइजन छन्।







डिसी नेपाल







Facebook Comment