१६ दिनदेखि अस्पतालमा रहेका ९९ वर्षका श्रीमानलाई बेलायती महारानीले भेट्न पाइनन्

डिसी नेपाल
१९ फागुन २०७७ १३:३५
6.1k
Shares

काठमाडौं। १६ दिनदेखि अस्पतालमा उपचार गराइरहेका आफ्ना ९९ वर्षका श्रीमान राजकुमार फिलिपलाई बेलायतकी महारानी एलिजाबेथ द्वितीयले अझैसम्म भेट्न पाएकी छैनन् । र, उनले तत्कालका लागि श्रीमानलाई भेट्न पाउने सम्भावना पनि न्यून छ । अब राजकुमार फिलिप अस्पतालबाट डिस्चार्ज भएर बाहिर नआउँदासम्म महारानीले भेट्न पाउने सम्भावना नदेखिएको बेलायती अखबार डेलीमेलले लेखेको छ

कोभिड–१९ संक्रमणका कारण लागू गरिएका नियमले महारानीलाई आफ्ना श्रीमानलाई भेट्नबाट रोकेको हो । यससँगै महारानी एलिजाबेथ पनि आफ्नो नियमित शाही जिम्मेवारीमा फर्किएकी छिन् । महारानीले शाही जिम्मेवारी अगाडि बढाउन थालेपछि यसलाई उनले धैर्यता कायमै राखेको संकेतका रुपमा बुझिएको छ । महारानीलाई आफ्ना श्रीमानको स्वास्थ्य अवस्थाबारे नियमित रुपमा जानकारी दिइएको छ तर उनलाई श्रीमानलाई भेट्नको लागि लण्डनको सेन्ट बार्टसमा जान अनुमति भने दिइने छैन ।

केही सीमित असाधारण परिस्थितिबाहेक अन्य अवस्थाका लागि अहिले कसैलाई पनि राजकुमारसँग भेट्न दिइने छैन । यसको अर्थ महारानी कम्तीमा २१ दिनसम्म आफ्ना ७३ वर्षदेखिका श्रीमानसँग छुट्टिएर बस्नुपर्नेछ । सेन्ट बार्टले आफूहरुलाई बिरामी र उनका परिवारलाई परेको कठिनाइबारे जानकारी भएको बताउँदै भनेको छ ‘हाम्रो पहिलो जिम्मेवारी हामीले हेरचाह गरिरहेको बिरामी हो र हामीले बिरामीको सुरक्षाको लागि भेटघाटलाई नियन्त्रण गर्नुपर्ने हुन्छ ।’

सेन्ट बार्टले वक्तव्यमा अगाडि भनेको छ ‘हामीले भेट्न आउनेलाई असाधारण परिस्थितिमा मात्रै अनुमति दिनेछौं । हामीलाई थाहा छ परिवारको सदस्य अस्पतालमा हुनु भनेको पीडादायक हुन्छ । हामीले परिवार र मित्रहरुसँग उनीहरुको चिन्ता हटाउनका लागि समीपमै रहेर काम गर्छौं र सम्पर्कमा रहिरहनका लागि वैकल्पिक उपाय खोज्छौं ।’ बकिंघम राजदरबारले अघिल्लो सोमबार राजकुमार फिलिप सेन्ट बार्ट अस्पतालमा भर्ना भएको जानकारी दिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *