बलात्कारको मुद्दामा गरेको टिप्पणीका कारण प्रधानन्यायाधीशको राजीनामा माग

डिसी नेपाल
२० फागुन २०७७ १९:५३
352
Shares

बीबीसी । बलात्कारको मुद्दामा गरेको टिप्पणीलाई लिएर तत्कालै राजीनामा गर्न भारतका प्रधानन्यायाधीशसँग माग गरिएको छ।

प्रधानन्यायाधीश शरद बोबडेलाई खुला पत्र लेख्दै ५ हजार भन्दा बढी महिलावादी, अधिकारवादीहरू र नागरिकहरूले आफूहरू आक्रोशित भएको भन्दै तत्कालै अभिव्यक्ति फिर्ता लिएर माफी माग्न भनेका हुन्।

तीन सदस्यीय बेञ्चको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश बोबडेले एक जना किशोरीलाई बलात्कार गरेको आरोप लागेका २३ वर्षीय पुरुषलाई उनीसँग विवाह गर्न तिमी तयार छौ ? भनेर सोधेका थिए।

उनले भनेका थिए, “यदि तिमी विवाह गर्न चाहन्छ्यौ भने हामी तिमीलाई मद्दत गर्न सक्छौँ। यदि चाहन्नौ भने तिमीले जागिर गुमाउँछ्यौ र जेल जानेछ्यौ।”

उनको टिप्पणीले धेरैलाई स्तब्ध बनाइदिएको थियो किनभने सन् २०१४/१५ मा बलात्कारको शिकार भएकी त्यसबेला १६ वर्षकी किशोरीले आफू एक जना टाढाको नातेदारबाट पीडित भएको आरोप लगाएकी थिइन्।

विद्यालय जाने उमेरकी ती बालिकालाई दुर्व्यवहार गरेको,पटक पटक बलात्कार गरेको, आगो लगाइदिने वा एसिड छर्किदिने धम्की दिएको अनि उनका दाजुलाई मारिदिने चेतावनी दिएको आरोप उक्त पुरुषमाथि लगाइएको छ।

अभियानकर्ताहरूले प्रधानन्यायाधीश बोबडेको टिप्पणी एकदमै समस्याकारी भएको र त्यसले बलात्कार जस्तो जघन्य अपराधलाई वैधानिकता दिने चेतावनी दिएका छन्। आफूमाथिको आलोचनाको बोबडेले कुनै प्रतिक्रिया जनाएका छैनन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *