सुन्दरीजल आयो मेलम्चीको पानी

उपेन्द्र शाही
२२ फागुन २०७७ १७:१९

काठमाडौं। बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको पानी अन्ततः काठमाडौं पुगेको छ। काम सुरु भएको दुई दशकपछि मेलम्चीको पानी शुक्रबार सुन्दरीजल आइपुगेको हो। यही फागुन १० गते परीक्षणका लागि सुरुङमा पठाइएको पानी त्यसको १२ दिनपछि शुक्रबार सुन्दरीजल पुगेको छ।

मेलम्चीको पानीको स्वागतको लागि प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् सुन्दरीजल पुगेका छन्।

पानी काठमाडौं पुगे पनि प्रयोगका लागि धारामा पुग्न भने अझै केही समय पर्खिनु पर्ने छ। सुरुङबाट सामान्य अवस्थामै पानी आइपुगे यी दुई प्रशोधन केन्द्रमा पानी खसालेर वितरण प्रणालीमा जोडिने छ। सुरुमा सुरुङभित्रको फोहोरसहित पानी आउने भएकोले सुरुङको पानी बागमतीमा फालिने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। त्यसैले मेलम्चीको पानी काठमाडौंको धारामा आउन अझै केही समय कुर्नु पर्ने देखिन्छ।

हाल काठमाडौं उपत्यकामा पानीको हाहाकार छ। मानिसहरुले दशकौंदेखि पानीको समस्या भोग्दै आएका छन्। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले हाल दैनिक आठ करोड लिटर पानी वितरण गर्दै आएको छ। जबकी उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ।

मेलम्चीको पानी काठमाडौं पुगेपछि पानीको समस्या समाधान हुने विश्वास गरिएको छ। पहिलो चरणको मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आउने आयोजनाले जनाएको छ। यो पूरा भएपछि दोस्रो चरणको मेलम्ची आयोजना प्रस्तावित छ। दोस्रो चरणमा याङ्ग्री र लार्के अन्य खोलाको पानी पनि मिसाएर राजधानीमा वितरण गर्ने योजना रहेको छ।

पहिलो चरणको आयोजनाले सुन्दरीजलमा दुईवटा पानी प्रशोधन केन्द्र बनाएको छ। यो आयोजनाबाट झन्डै १३ लाख बासिन्दा अर्थात् एक लाख ५८ हजार परिवारलाई खानेपानी आपूर्ति गर्ने अनुमान छ।

मेलम्ची खानेपानी आयोजना एक बृहत अन्तर जलाधार भएको खानेपानी आयोजना हो। सिन्धुपाल्चोक जिल्ला भई बग्ने इन्द्रावती नदीका सहायक नदीहरू (मेलम्ची, याङ्ग्री तथा लार्के) को पानीलाई सुरुङका माध्यमबाट काठमाडौँ उपत्यका ल्याई वितरण गर्ने उद्देश्य छ। सुरुमा विद्युत पनि उत्पादन गर्ने भनिएता पनि काम अगाडि बढेको छैन्।

उपत्यकावासीले लामो समयदेखख भोग्दै आएको खानेपानी समस्या समाधान गर्ने मेलम्ची आयोजनाको उद्देश्य हो। मेलम्ची खानेपानी आयोजनाको कार्यान्वयन तीन चरणमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। यसका लागि मेलम्ची नदी डाइभर्सन सुरुङ तथा १७ करोड लिटर दैनिक क्षमता भएको सुन्दरीजल पानी प्रशोधन केन्द्र पहिलो चरणमा सम्पन्न भएको छ।

यस्तै अन्य दईुवटा नदीहरूलाई डाइभर्सन गरी मेलम्ची नदीको हेडवर्कस भन्दा केही माथी जोड्नका लागी थप दईुवटा हेडवर्कस तथा सरूङ निमार्ण गरिने छ। सुन्दरीजलमा ३४० करोड लिटर क्षमताको पानी प्रशोधन केन्द्रको निर्माण क्रमशः दोस्रो र तेस्रो चरणमा हुने छ।

इतिहास मेलम्चीको
मेलम्ची काठमाडौं आउँछ भनेर चुनावी नारा बनाउनेको लामो फेहरिस्त छ। विक्रम सम्वत् २०५१ को मध्यावधि चुनावमा काठमाडौंबाट उठेका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनाव जिते “काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने” बताएका थिए। धेरै प्रधानमन्त्री र मन्त्रीहरुले प्रतिबद्धता जनाए।

तर, पानी काठमाडौं पुग्न लामो समय लाग्यो। समयसीमा तोकिने र त्यसको पालना नहुने शृखलाबद्ध घटनाक्रमले काममा ढिलाई भएपछि मेलम्ची एउटा विम्ब नै बन्न पुगेको छ।

मेलम्ची आयोजना विसं २०५८–५९ मा सुरु गर्दा विसं २०६४ र ६५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर, त्यसको करिव २० वर्षबढी भइसक्दा पनि उपत्यकाबासीले पानी पीउन पाएका छैनन्।

अयाजनाको लागत
मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणमा साढे ३५ करोड डलर खर्च भएको छ। आयोजनामा एशियाली विकास बैंकले साढे १४ करोड डलर ऋण उपलब्ध गराएको छ। हालसम्म ३० अर्ब रुपैयाँ खर्च भइसकेको आयोजनाको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *