संकीर्ण सोचयुक्त समाजबाट उठेर महिला दिवसको दिन इतिहास रचेपछि जब उनी भक्कानिइन्…
काठमाडौं। तश्नुवा आनन शिशिर । बंगलादेशी पहिलो ट्रान्जेन्डर समाचारवाचिका । महिला दिवसको दिन उनले बंगलादेशकै पहिलो ट्रान्जेण्डर समाचारवाचिकाको रुपमा इतिहास बनाइन् । सोमबार उनले ३ मिनेटको समाचार बुलेटिन वाचन गरेपछि उनलाई उनका सहकर्मीहरुले उत्साहका साथ बधाइ दिए । सहकर्मीको यो सौहार्दता देखेर उनले मन थाम्न सकिनन् र उनी भक्कानिइन् । अल जजीराका अनुसार जब उनी भक्कानिइन् त्यतिबेलासम्म उनले एकदमै निपुण तरिकाले समाचार पूरा गरिसकेकी थिइन् र क्यामेरा बन्द भइसकेका थिए ।
तक्नुवा ट्रान्जेन्डर अधिकारकर्मी हुन् र उनी एक गैरसरकारी संस्थाको लागि काम गर्छिन् । एक अनुमान अनुसार बंगलादेशमा करिब १५ लाख ट्रान्सजेन्डरहरु छन् । यिनीहरुमाथि त्यहाँ ठूलो मात्रामा भेदभाव र यौन हिंसा हुने गरेको छ । जीविका चलाउनकै लागि यो समुदाय भिख माग्ने, यौन व्यापार वा अपराधमा संलग्न हुन बाध्य छन् । तश्नुवाले आफ्नो समाचार वाचिकाको करिअरको सुरुवात बोइशाखी टिभीबाट तीन मिनेटको समाचार बुलेटिनबाट गरिन् ।
तश्नुवाका अनुसार उनले किशोर अवस्थामा मात्रै आफू ट्रान्सजेन्डर भएको थाहा पाएकी थिइन् । उनका अनुसार उनको साथमा वर्षौंसम्म यौन शोषण र दुर्व्यवहार भइरह्यो । उनलाई यो सबै यतिसम्म नराम्रो लाग्थ्यो कि उनले ४ पटकसम्म आत्महत्याको प्रयास गरेकी थिइन् । उनका पिताले उनीसँग वर्षौं पहिले बोल्न बन्द गरिसकेका छन् । अहिले तश्नुवा २९ वर्षकी छिन् ।
तश्नुवाले भनिन् ‘म आफ्नो पहिचानको साथमा समाजको सामना गर्न सक्दिनथै. त्यसैले मैले घर छोडें ।’ उनले घर छोडेर राजधानी ढाकामा एक्लै बस्न थालिन् । त्यहाँ उनले हर्मोन थेरापीमा काम गरिन् । उनले पेट पाल्नको लागि निकै संघर्ष गरिन् । पढाइ पूरा गर्नको लागि उनले सिनेमाघरमा पनि काम गरिन् । गएको जनवरीमा उनी ढाकाको जेम्स पी ग्रान्ट स्कुल अफ पब्लिक हेल्थमा सार्वजनिक स्वास्थ्य विषयमा स्नातकोत्तर पढ्ने पहिलो ट्रान्सजेन्डर बनिन् ।
एलजीबीटी समुदायले दक्षिण एसियाली देशहरुमा अहिले पनि व्यापक भेदभावको सामना गर्नुपर्छ । उनहिरुलाई समलिंगी यौन सम्बन्धका कारण सजाय दिने कानुन अझै कैयौं देशमा छ । बंगलादेशमा प्रधानमन्त्री शेख हसिनाको सरकारले २०१३ मा ट्रान्सजेन्डरलाई अलग लिंगको पहिचान दिइने अनुमति दिएको थियो । २०१८ मा उनीहरुले तेस्रोलिंगीको रुपमा मतदान गर्ने अधिकार पाए ।
बोइशाखी टिभीका प्रवक्ता जुल्फिकर अली माणिकले आफूहरुको च्यानलले रुढीवादी देशमा कैयौं दर्शकबाट आउन सक्ने नकारात्मक प्रतिक्रियाको जोखिम उठाउँदै तश्नुवालाई काम गर्ने अवसर दिएको बताए । उनले यो सुरुवातलाई ऐतिहासिक कदमको रुपमा टिप्पणी गरे । तश्नुवाका अनुसार उनले अन्य च्यानलमा पनि अडिसन दिएकी थिइन् तर केवल बोइशाखी टिभीले मात्रै उनलाई अवसर दिएको हो ।







डिसी नेपाल







Facebook Comment