चीनको सिनोभ्याक खोप चिली पुग्यो

डिसी नेपाल
२५ फागुन २०७७ १८:४८
28
Shares

सान्टियागो । चीनको औषधि निर्माता फर्म सिनोभ्याकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप “कोरोनाभ्याक” को पाँचौं खेप चिली आइपुगेको छ । चिली सरकारलाई उक्त खोप हस्तान्तरण गरिएको छ ।

चिलीका स्वास्थ्य मन्त्री एन्रिक पेरिस र अन्य अधिकारीहरुले सान्टियागो विमानस्थलमा चिनियाँ खोप बुझेका थिए । चीनले पठाएको यो खोप पाँचौं पटक हो ।

त्यस अवसरमा संक्षिप्त प्रतिक्रिया दिँदै स्वास्थ्य मन्त्री पेरिसले चीनबाट उपलब्ध खोपले चिलीका सर्वसाधारणलाई कोरोनाभाइरसबाट सुरक्षित राख्न महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।चिलीको जनस्वास्थ्य इन्स्टिच्यूटले गत जनवरी २० मा सिनोभ्याकको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।

चिलीमा गत फेब्रुअरी ३ बाट सर्वसाधारणलाई खोप दिन थालिएको छ । यसवर्ष पहिलो तीन महिनाभित्र उच्च जोखिममा रहेका भनी पहिचान गरिएका करिब ५० लाख व्यक्तिलाई खोप लगाउने चिलीको योजना छ । उक्त खोप अभियान समाप्त भएलगत्तै अरु एक करोड ५० लाख व्यक्तिलाई खोप दिइने छ ।

दक्षिण अमेरिकी मुलुक चिलीमा हालसम्म ४१ लाख ७६ हजार व्यक्तिले खोप लिइसकेका छन् । त्यसमध्ये झण्डै पाँच लाखले दोस्रो डोज पनि लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अधिकारीहरुका अनुसार हालसम्म चिलीमा आठ लाख ६० हजार व्यक्तिमा कोरोना संक्रमण देखिएको र तीमध्ये करिब २१ हजार व्यक्तिको संक्रमणबाट मृत्यु भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *