म्यान्मारमा सैन्य दमनका बीच देखिएको त्यो दृश्य
काठमाडौं। म्यानमारमा सैन्य दमनका बीच एक ननले घुँटा टेकेर केही पुलिसकर्मीहरुलाई प्रदर्शनकारीमाथि गोली नचलाउन आग्रह गरेको तस्वीर सार्वजनिक भएपछि अहिले यो दृश्य चर्चामा छ । सिस्टर आन रोज नु तवाङले घुँडा टेकेर पुलिसकर्मीहरुसँग प्रार्थना गरिन् तर दुर्भाग्यवश उनको यो प्रार्थना सफल हुन पाएन । तवाङका अनुसार बरिष्ठ अधिकारीहरुले सोमबार उनलाई आफूहरुले केवल मित्किनाको सडक खाली गराएको बताएका थिए ।
उनले भनिन् ‘मैले उनीहरुलाई प्रदर्शनकारीहरुलाई चोट नपुर्याउन र उनीहरुसँग मानवतापूर्वक व्यवहार गर्न बिन्ती गरेकी थिएँ ।’ द सनका अनुसार तवाङ र एक जना पुलिसकर्मी भुइँमा ढोग्दै गरेका देखिएका थिए तर त्यसको केही समयमै गोली चल्न थाले । गोलीबारीमा कम्तीमा २ जना प्रदर्शनकारी मारिएको र कैयौं अन्य घाइते भएको सिस्टर तवाङ र अन्य प्रत्यक्षदर्शीले बताएका छन् । सैन्य प्रवक्ता र पुलिसले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
म्यानमारमा सेनाले फेब्रुअरी १ मा प्रजातान्त्रिक तरिकाले निर्वाचित नेतृ आङ साङ सुकीलाई हिरासतमा लिएर सैन्य कू मार्फत म्यानमारको शासनसत्ता कब्जा गरेको थियो । सेनाले त्यहाँ एक वर्षको लागि संकटकाल लागू गराएको छ । यससँगै म्यानमारमा १ दशक लामो नागरिक शासनको अन्त्य भएको छ । सेनाले गएको नोभेम्बरमा भएको निर्वाचनमा धाँधली भएकोले आफूले शासनसत्ता कब्जा गरेको बताएको छ । यो निर्वाचनमा सुकीको नेशनल लिग फर डेमोक्रेसीले अत्याधिक बहुमतले जितेको थियो ।







डिसी नेपाल







Facebook Comment