ब्रिटेनद्वारा कोभिड खोप निर्यात रोकेको आरोप खण्डन
बीबीसी । ब्रिटेनले सबै कोभिड–१९ खोपको निर्यातमा प्रतिबन्ध लगाएको भनी एक वरिष्ठ युरोपेली अधिकारीले गरेको टिप्पणी पूर्ण रूपमा असत्य भएको ब्रिटेनका विदेशमन्त्री डोमिनिक राबले बताएका छन्।
युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले साप्ताहिक ब्रीफिङका बेला उक्त टिप्पणी गरेका थिए। यसलाई लिएर विदेशमन्त्री राबले लन्डनस्थित ईयूका प्रतिनिधिलाई विदेश मन्त्रालयमा छलफल गर्न बोलाएका छन्। साथै, उनले मिशेललाई पत्र पनि लेखेका छन्। ·
यही ज्यानुअरीमा ब्रिटेनले ब्रेक्जिटमार्फत् युरोपेली युनियनसँगको सम्बन्धविच्छेद गरेको थियो। त्यसयता ब्रसल्स र लन्डनबीच विभिन्न विषयमा मतभेद सार्वजनिक भइसकेका छन्। खोपलाई लिएर यो मतभेद त्यतिखेर आएको छ जतिखेर खोप कार्यक्रममा भएको ढिलाइका कारण ईयूको आलोचना भइरहेको छ भने ब्रिटेनले चाहिँ सफल खोप वितरण गरिरहेको भनेर प्रशंसा बटुलिरहेको छ।
यसअघि ज्यानुअरीमै ईयूले खोप निर्यातमा नियन्त्रणबारे नयाँ नियम ल्याएको थियो जसअन्तर्गत उत्पादकहरूले पूर्वयोजनाअनुसार विक्रीवितरण गर्न पनि राष्ट्रिय सरकारहरूसँग अनुमति लिनुपर्थ्यो। उक्त कदमले ब्रिटेनसँग तिक्तता बढाएको थियो।
त्यसपछि दुई पक्षले गत वर्ष सहमति गरेको उत्तर आयरल्यान्डको सीमा व्यवस्थापनको कार्यान्वयन पनि विवादको विषय बनेको थियो। सत्ताइस २७ राष्ट्र सदस्य भएको ईयूका नेता मिशेलले ईयूमाथि खोप राष्ट्रवादको आरोप लागेकोमा आश्चर्य प्रकट गरेका थिए।
उनले ईयूले कहिले पनि खोपको निर्यात नरोकेको जनाए। ‘यहाँ तथ्यले झुटो बोल्दैन,’ उनले टिप्पणी गरेका छन्। ‘यूके र अमेरिकाले उनीहरूको क्षेत्रमा उत्पादन भएका खोपको निर्यात वा खोपका सामग्रीहरूको निर्यातमा ठाडो प्रतिबन्ध लगाएका छन्।’
‘जबकि विश्वको सबभन्दा ठूलो खोप उत्पादन संरचना रहेको क्षेत्र युरोपेली यूनियनले केवल यहाँ उत्पादित खोपको निर्यात नियन्त्रणसम्बन्धी नियम ल्याएको छ,’ मिसेलले भनेका थिए।







डिसी नेपाल







Facebook Comment