कोरोना खोप लगाउन नगएपछि खोज्दा मृत भेटिएकी महिला १२ वर्षअघि मरिसकेको हुन सक्ने
काठमाडौं। कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाउने सूचीमा रहेकी एक महिला भ्याक्सिन लगाउन नगएपछि खोजी गर्ने क्रममा मृत भेटिएकी थिइन् । ती महिलाको मृत्यु १२ वर्ष अघि नै भइसकेको हुन सक्ने आशंका गरिएको छ । क्रिस्टिना माले नामकी ती महिलाको स्कटल्याण्डको अबेर्डिनस्थित घरमा २५ फेब्रुअरीका दिन अस्थिपंजर भेटिएको थियो । यो घरमा उनी आफ्ना पतिसँग बस्थिन् ।
उनका पति ७८ वर्षका ड्यानियल मालेले आफ्नी पत्नीको मृत्यु भएपछि उनको शव आफूसँगै राखेको बताएका छन् । ड्यानियल आफ्नी पत्नीसँग छुट्टिन चाहँदैनथे र उनको मृत्यु भएपछि पनि उनले आफ्नी पत्नी आफूलाई छोडेर गएको स्वीकार गर्न सकेनन् । त्यसैले उनले शव घरमै राखेका थिए । रेकर्डअनुसार अहिले ८० वर्षभन्दा माथि उमेरकी भइसकेकी ती महिला कोरोना खोप लगाउन नगएपछि नर्सहरु खोज्दै आउँदा उनको अस्थिपंजर फेला परेको थियो ।
अनुसन्धानकर्ताहरुले ती महिलाको मृत्यु वास्तवमै कहिले भएको थियो र कसरी भएको थियो भन्ने निश्चित समय र कारण खोजिरहेका छन् । इभिनिङ एक्सप्रेसका अनुसार उनको मृत्यु एक दशकभन्दा पहिले नै नभइसकेको हुन सक्ने आशंका गरिएको छ । अनुसन्धान टिमको एक स्रोतका अनुसार ड्यानियलले आफ्नी पत्नीको मृत्यु केही वर्ष अगाडि प्राकृतिक कारणले भएको बताएका छन् । उनी पत्नीसँग छुट्टिन चाहँदैनथे त्यसैले उनले शवलाई घरमै राखे । कसैले पत्नीको बारेमा सोधे उनी विदेश गएको बताउँथे ।
छिमेकीहरुले ती महिला त्यो घरमा भएको हुन सक्नेबारे आफूहरुले अनुमान समेत नगरेको बताएका छन् । तर, सरकारी रेकर्डमा भने ती महिला २५ वर्षदेखि त्यही घरमा थिइन् । छिमेकीहरुका अनुसार महिलाका पति ड्यानियल स्थानीय पब र अखबार पसलमा नियमित ग्राहक थिए । तर, छिमेकीहरुले उनलाई पत्नीको साथमा कहिल्यै देखेका थिएनन् । रेकर्डका अनुसार ड्यानियल र क्रिस्टिनाको बिहे १९७६ मा भएको थियो र उनीहरु १९९५ देखि यो घरमा बस्दै आएका थिए ।
स्थानीयका अनुसार उनीहरुको घरमा कोही आउँदैनथे र उनीहरुलाई ड्यानियलका कोही आफन्त वा साथीहरु नभएको जस्तो लाग्थ्यो । ड्यानियलले हेरचाह र मेडिकल सहयोग पनि पटक पटक अस्वीकार गर्दै आइरहेका थिए । एक स्थानीयका अनुसार नर्सहरुले ती महिलाका बारेमा सोध्दा उनले त्यो घरमा ड्यानी मात्रै बस्ने जवाफ दिएका थिए । त्यसपछि नर्सहरुले महिलालाई खोज्ने क्रममा उनको शवको अवशेष भेटिएको थियो ।







डिसी नेपाल








Facebook Comment