जसको हत्याले पूरै अमेरिका हल्लियो, उनको परिवारले अरबौं रुपैयाँ क्षतिपूर्ति पाउने
काठमाडौं। एक वर्षअघि अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोएडको हत्या भएपछि पूरै अमेरिकामा विरोध प्रदर्शन भएको थियो । अब उनको परिवारले भारी रकम क्षतिपूर्ति पाउने भएका छन् । मिनियापोलिस राज्यसँग भएको सम्झौताअनुसार अब जर्ज फ्लोएडको परिवारले २७ मिलियन डलर (३ अर्ब १३ करोड रुपैयाँ) क्षतिपूर्ति पाउने भएको सीएनएनले जनाएको छ ।
१ वर्ष पहिले अश्वेत युवक जर्ज फ्लोएडले नक्कली नोट दिएको आरोपमा पुलिस उनलाई पक्राउ गर्न गएको थियो । यस क्रममा पुलिसले उनलाई भुइँमा लडाएर उनको घाँटीमा घुँडाले थिचेका थिए । अत्याधिक बल प्रयोग गरिएपछि फ्लोएडको मृत्यु भयो । घटनाको भिडियो सार्वजनिक भएपछि अमेरिकासहित पूरै विश्वभर ब्ल्याक लाइभ्स म्याटर (अश्वेतको जीवनले अर्थ राख्छ) अभियान सुरु भएको थियो । पछि पुलिसकर्मीमाथि हत्याको आरोप लागेको थियो र उनलाई पक्राउ गरेर जेल पठाइएको थियो ।
जर्ज फ्लोएडको मृत्युपछि उनको परिवारले मिनियापोलिस राज्यविरुद्ध सिभिल मुद्दा दायर गरेका थिए । अर्कोतर्फ आरोपी पुलिसकर्मीमाथि हत्या अभियोगमा अर्को मुद्दा चलिरहेको छ जसको सुनुवाइ केही दिनमा हुँदैछ । सुनुवाइ सुरु हुनुभन्दा पहिले नै मिनियापोलिस राज्यले जर्ज फ्लोएडको परिवारसँग सिभिल मुद्दालाई लिएर सम्झौता गरेको छ । मिनियापोलिस राज्य जर्जको परिवारलाई २७ मिलियन डलर दिन राजी भएको छ ।
जर्ज फ्लोएडको परिवारका वकिल बेन्जामिन क्रम्पका अनुसार गलत तरिकाले मृत्युको मामिलामा यो अहिलेसम्मको सबैभन्दा ठूलो सेटलमेन्ट धनराशी हो । उनले यसबाट अश्वेतको जीवनले अर्थ राख्छ र अश्वेतविरुद्ध पुलिस हिंसा बन्द गरिनुपर्छ भन्ने ठूलो सन्देश जाने बताए । जर्ज फ्लोएडको मृत्यु २५ मे २०२० मा भएको थियो ।







डिसी नेपाल








Facebook Comment