अन्तर्राष्ट्रिय मञ्चमा नयाँ क्षेत्रीय संगठन जन्मिँदै, अमेरिका र चीन फेरि आमने समाने
काठमाडौं। अहिले संसार बहुध्रुबमा बाँडिएको छ। तर विस्तारै यो दुई ध्रुवमा बाँडिन सक्ने सम्भावना बढ्दै गएको छ। र शीत युद्धको जस्तै अवस्था बनिरहेको छ। एकातिर अमेरिका भने अर्कोतर्फ चीन। यी दुई मुलुक अहिले व्यापार युद्धमा छन्। र एकअर्काप्रति तिखो टिप्पणी गरिरहेका छन्। १९ मार्चमा अमेरिकामा जो बाइडेन राष्ट्रपति बनेपछि पहिलो पटक चीन र अमेरिकाबीच उच्चस्तरीय वार्ता भयो। तर, सो वार्तामा निकै चर्काचर्की भयो। यसले पनि अमेरिका र चीनबीचको सम्बन्ध आगामी दिनहरुमा झन तिक्ततापूर्ण हुने संकेत दिएको छ।
यहीबीचमा बुधबार एक समाचारले विश्व राजनीतिलाई तरंगित बनाइदिएको छ। समाचार हो – रुस र चीनले एक क्षेत्रीय सुरक्षा संवाद मञ्च बनाउने घोषणा। चीन भ्रमणमा रहेका रुसी विदेशमन्त्री सर्गोइभ लाभरोभ र उनका चिनियाँ समकक्षी वाङ यीबीच भएको वातापछि जारी विज्ञप्तिमा दुबै देशले क्षेत्रीय सुरक्षा संवाद मञ्च बनाउने प्रस्ताव गरेको उल्लेख छ। अन्तर्राष्ट्रिय मञ्चमा यो नयाँ क्षेत्रीय संगठन हुनेछ। जसको सिधा टक्कर अमेरिका, भारत, जापान र अष्ट्रलिया सिम्लित क्वाडसँग हुनेछ।
हालै क्वाड देशका राष्ट्र तथा सरकार प्रमुखबीच भर्चुअल बैठक भएको थियो। क्वाड २००७ मा बने पनि पहिलो पटक शीखर सम्मेलन भयो। यो शिखर सम्मेलन हुँदा भारत र चीनबीच सीमामा तनाव जारी थियो भने, चीन र अष्ट्रेलियाबीच पनि सम्बन्धमा तिक्तता आएको थियो। जापान र चीनबीच पनि सम्बन्ध प्रगाढ छैन। यी देशहरुबीच सैन्य प्रविधि आदानप्रदानको सहमित पनि भएको छ।
क्वाडलाई चीनले ‘मिनी नाटो’ भन्दै आएको छ। र रुसले पनि क्वाड समूहलाई क्षेत्रीय सुरक्षामा चुनौति मान्दै आएको छ। त्यसमाथि अमेरिका र रुसबीच पनि सम्बन्ध सुमधुर छैन। हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘घातक’ भनेका छन्। त्यसको जवाफमा पुटिनले पनि भनेका थिए, ‘हामी जस्तो छौं, अरुलाई पनि त्यस्तै देख्छौं।’
शीत युद्धकालिन समयमा दुई फरक फरक धुब्रमा रहेका चीन र रुस भने यतिबेला नजिक भइरहेका छन्। यी दुबै देशले आफ्नो मुख्य बाधक अमेरिकालाई ठान्छन् जसको कारण यी दुई मुलुक नजिकिन बाध्य भएका छन्।
चीन हाल विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक हो भने अमेरिका सुपर पावर। यी दुई देशको अगुवाईमा हुने ध्रुवीकरणले विश्वलाई नै प्रभाव पार्ने निश्चित छ। केही विश्लेषकहरु शीत युद्धकै जस्तो अवस्था आउने र विश्व दुई धु्रबमा बाँडिने सम्भावना रहेको बताउछन्।
यस्तो बेला सबैभन्दा ठूलो समस्या भारत जस्ता मुलुकलाई हुनेछ। किनकी भारत र रुसबीच ऐतिहासिक सम्बन्ध छ तर भारत चीन विरोधीमात्र नभएर अमेरिकासँग अति निकट छ। यस्तो अवस्थामा क्वाडको एक महत्वपूर्ण सदस्यसमेत रहेको भारतले अमेरिका र रुससँग कसरी सन्तुलित सम्बन्ध बनाउँछ त्यो उसका लागि चुनौतीपूर्ण हुने देखिन्छ। (विभिन्न समाचार एजेन्सीको सहयोगमा)







डिसी नेपाल








Facebook Comment