म्यानमारको हवाइ सेनाले गाउँमा बम वर्षायो, ३ हजार नागरिक थाइल्याण्ड भाग्न बाध्य
काठमाडौं। म्यानमारमा सेनाको बर्बरता दिनप्रतिदिन बढ्दै गएको छ। शनिबार एक व्यक्तिको अन्तिम संस्कारको यात्रामा खुल्ला फायरिङ गरेकोको भोलिपल्ट एयर फोर्सले सीमासँगै जोडिएको गाउँमा हवाई आक्रमण गरेको छ । यसमा बालबालिकालगायत कैयौंको मृत्यु भएको दावी गरिएको छ । यो गाउँ म्यानमारको दक्षिणपूर्वी करेन राज्यमा रहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
यस आक्रमणबाट बच्न मानिसहरूले नजिकैका गुफाहरूमा लुकेर ज्यान जोगाए। सेनाको आक्रमणको डरले करिब ३ हजार मानिसहरु थाइल्यान्ड भाग्न बाध्य भएका थिए । यो क्षेत्र विद्रोही समूह करेन नेशनल युनियन (केएनयू) ले कब्जा गरेको क्षेत्र मानिन्छ। केएनयूले बताएअनुसार हालैका हप्ताहरूमा म्यानमारको मध्य भागमा पुगेका सयौं मानिसहरूलाई यसले आश्रय प्रदान गरिरहेको छ।
केएनयूका अनुसार सेनाको आक्रमण बेलुकी ८ बजेतिर भएको थियो। फाइटर जेट्सले केएनयुको ब्रिगेड–५ को नियन्त्रणमा रहेको क्षेत्रमा बम खसाएको थियो । गत महिनाको सैन्य विद्रोहपछि गृहयुद्धको खतरा बढेको उक्त समूहले बताएको छ। तर, म्यान्मारको सेनाले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । रिपोर्टहरूअनुसार विगत केही वर्षमा यस क्षेत्रमा भएको सबैभन्दा ठूलो आक्रमण यही हो। केएनयूले सन् २०१५ मा सरकारसँग युद्धविराम सम्झौता गरेको थियो। सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेको थियो ।







डिसी नेपाल








Facebook Comment