विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

डिसी नेपाल
४ भदौ २०८३ १३:०६

काठमाडौँ। प्रहरीले काठमाडौँसहित विभिन्न सात जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित १५ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नियमित गस्तीमा खटिएको प्रहरी टोलीले काठमाडौँ, मोरङ, झापा, सुनसरी, दाङ, कपिलवस्तु र भक्तपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

काठमाडौँको तारकेश्वर नगरपालिका–७ मनमैजुबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित सोही स्थानका ३६ वर्षीय उमेश मुखियालाई प्रहरीले पक्राउ गरेको छ। त्यस्तै, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० सङ्गम टोलबाट सोही स्थानका २३ वर्षीय घनश्याम बस्नेत तथा झापाको हल्दीबारी गाउँपालिका–२ कदम चोकबाट भद्रपुर नगरपालिका–७ का २३ वर्षीय सुवास राजवंशी पक्राउ परेका छन्। राजवंशीको साथबाट पनि खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानबाट चार जना पक्राउ परेका छन्। त्यसैगरी, दाङको तुलसीपुर उपमहानगरपालिका–९ सल्लेवनबाट दुई जना र लमही नगरपालिका–५ सुनखोलीबाट एक जना पक्राउ परेका छन्।

कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ बाट ब्राउनसुगरजस्तो देखिने पदार्थ र नगदसहित शिवराज नगरपालिका–९ बानियाभारका २२ वर्षीय अर्जुन सुनारसहित तीन जना पक्राउ परेका छन्।

यसैगरी, भक्तपुरको सूर्यविनायक नगरपालिका–६ पाण्डुबजार हाइटबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोलसहित धादिङको धुनीबेँसी नगरपालिका–२ का २९ वर्षीय सुरज लुइटेल पक्राउ परेका छन्। धरान उपमहानगरपालिका–१६ शमीचोकबाट सोही स्थानका २१ वर्षीय विदुर कार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकाहरूको साथबाट बरामद लागुऔषधको परिमाण तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *