आफ्नै देशमा आफ्नै सरकारबाट असुरक्षित सुन्दरी भन्छिन्–‘साथीहरुले घर नआउनु भनेका छन्’

डिसी नेपाल
२४ चैत २०७७ १३:३६
3.2k
Shares

काठमाडौं। आफ्नै देशमा सरकारबाटै असुरक्षित सुन्दरीले अन्ततः तत्काल स्वदेश नफर्किने सोच बनाएकी छिन् । आफ्ना साथीहरुले आफूलाई घर नफर्किनु भनेको बताउने यी सुन्दरीले कम्तीमा तीन महिनासम्म विदेशमै रहने निर्णय गरेकी छिन् । थाइल्याण्डमा भएको मिस ग्रयाण्ड इन्टरनेशनल समारोहमा म्यानमारकी प्रतियोगी हान लेले जोखिम र बहादुरीपूर्ण अभिव्यक्ति दिएपछि उनी आफ्नै देशमा असुरक्षित भएकी हुन् ।

अन्य सौन्दर्य प्रतियोगितामा विरलै देख्न पाइने यो दृश्य थाइल्याण्डमा देखियो जब हानले आफ्नो देशमा भएको सैन्य कूको विरोध गरिन् । मिस ग्रयाण्ड म्यानमार हानले आफ्नो देशमा सेनाको अत्याचारको विरोध गर्दै पूरै विश्वको ध्यान आफ्नो देशतर्फ तानिन् । यसको १ महिना अगाडि २२ वर्षकी उनी म्यानमारका सडकमा अन्य प्रदर्शनकारीहरुसँगै उत्रिएर देशमा भएको सैन्य कूको विरोध गरिरहेकी थिइन् । उनी यांगुन युनिभर्सिटीमा मनोविज्ञानकी विद्यार्थी हुन् ।

उनी आफ्नो देशको बारेमा अन्तर्राष्ट्रिय मञ्चमा बोल्न चाहन्थिन् जसको लागि उनले सौन्दर्य प्रतियोगिता रोजिन् । हानले आफ्नो भावुक वक्तव्यमा भनिन् ‘आज मेरो देश म्यानमारमा कैयौं जनता मारिँदैछन् । कृपया हामीलाई सहयोग गर्नुहोस् । हामीलाई अन्तर्राष्ट्रिय समुदायबाट तत्काल सहयोगको आवश्यकता छ ।’ बीबीसीसँग कुरा गर्दै हानले आफ्नो यो वक्तव्यपछि आफ्ना साथीहरुले म्यानमार नफर्किन सल्लाह दिएको बताइन् ।

हानले कुराकानीका क्रममा आफ्नो यो वक्तव्यका कारण आफू सेनाको निशानामा पर्न सक्ने भएकोले अझै ३ महिनासम्म थाइल्याण्डमै बस्ने बताइन् । उनका अनुसार उनलाई आफ्नो वक्तव्यपछि यस्तो कठिन परिस्थिति आउने पूर्वानुमान थियो र उनले जोखिम उठाएरै अन्तर्राष्ट्रिय मञ्चमा यसबारे कुरा उठाएकी थिइन् ।

हानले भनिन् ‘मलाई मेरो र परिवारको सुरक्षाको चिन्ता छ । मैले सेना र देशको वर्तमान परिस्थितिबारे कैयौं कुरा भनेकी छु । मेरो देशमा कैयौं यस्ता सेलिब्रेटी छन् जो सेनाको विरोधमा बोलेका कारण गिरफ्तार भएका छन् । तर, अहिलेलाई म आफ्नो देशको स्थितिको बारेमा आवाज उठाइरहनेछु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.