नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

डिसी नेपाल
४ भदौ २०८३ ९:४९

काठमाडौँ। विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । लामखुट्टेको टोकाइबाट हुने रोगको जोखिम न्यूनीकरण तथा यससम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ ।

लामखुट्टेको टोकाइबाट औँलो, डेङ्गु, चिकनगुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले र जापानिज इन्सेफलाइटिसजस्ता विभिन्न कीटजन्य रोग फैलिने गरेका छन् । नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे रहेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका अनुसार गत आर्थिक वर्षमा लामखुट्टे तथा अन्य कीटजन्य रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए । पछिल्लो समय जलवायु परिवर्तनका कारण लामखुट्टेको बासस्थान र फैलावटमा समेत परिवर्तन आएको भन्दै स्वास्थ्य अधिकारीहरूले रोगको जोखिम बढ्दै गएको बताएका छन् ।

विशेषगरी तापक्रममा आएको परिवर्तनका कारण लामखुट्टे तथा अन्य रोग सार्ने कीटहरू उच्च हिमाली क्षेत्रमा समेत फैलिन थालेका छन् । यसले विगतमा तुलनात्मक रूपमा कम जोखिममा रहेका हिमाली तथा उच्च पहाडी क्षेत्रमा समेत कीटजन्य रोगको सम्भावना बढाएको स्वास्थ्य अधिकारीहरूको भनाइ छ ।

कीटजन्य रोग नियन्त्रणका लागि सरकारले सातवटै प्रदेशमा प्रयोगशाला स्थापना गरी रोगको पहिचान, निगरानी तथा नियन्त्रणसम्बन्धी विभिन्न काम गर्दै आएको जनाएको छ । रोगको अवस्था र फैलावटबारे नियमित निगरानी बढाउनुका साथै आवश्यकताअनुसार नियन्त्रणका कार्यक्रम सञ्चालन गरिँदै आएको विभागले जनाएको छ ।

कीट रोग नियन्त्रण शाखाका प्रमुख डागोकर्ण दाहालका अनुसार पछिल्लो समय कीटजन्य रोग ५६ जिल्लासम्म फैलिसकेको छ । उनले लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने, घर वरपर पानी जम्न नदिने, सरसफाइमा ध्यान दिने तथा लामखुट्टेको टोकाइबाट जोगिन आवश्यक सावधानी अपनाउनुपर्नेमा जोड दिए ।

स्वास्थ्यकर्मीहरूले डेङ्गु तथा अन्य लामखुट्टेजन्य रोगको जोखिम कम गर्न घर तथा समुदायस्तरबाटै सचेतना र रोकथामका उपाय प्रभावकारी रूपमा अपनाउनुपर्ने बताएका छन् । लामखुट्टेले अण्डा पार्ने सम्भावित स्थानमा पानी जम्न नदिने, पानीका भाँडा ढाकेर राख्ने, झुल तथा लामखुट्टे भगाउने सामग्री प्रयोग गर्ने र रोगका लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा सम्पर्क गर्न उनीहरूले सुझाव दिएका छन् ।

विश्व लामखुट्टे दिवसका अवसरमा स्वास्थ्य निकायहरूले लामखुट्टेको टोकाइबाट हुने रोगबारे जनचेतना फैलाउने, रोगको जोखिम न्यूनीकरण गर्ने तथा व्यक्तिगत र सामुदायिक सरसफाइलाई प्राथमिकता दिने सन्देश दिएका छन् । बदलिँदो जलवायु र बढ्दो कीटजन्य रोगको जोखिमलाई ध्यानमा राख्दै आगामी दिनमा रोकथाम तथा नियन्त्रणका कार्यक्रम थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *