सरकार चलाउन कांग्रेसको अरुचि
फाइल
काठमाडौं। २० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा भने अरुचि देखाउँदै आएको छ ।
कांग्रेसले सो बैठकबाट प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा अन्य दलसहितको गठबन्धन बनाएर सरकार गठनको पहल गर्ने निर्णय गरेको भए पनि संख्या सुनिश्चित नभएको भन्दै कांग्रेसले सत्ताको नेतृत्व गर्न अरुचि देखाउँदै आइरहेको हो ।
सरकारको विकल्प खोज्नुपर्ने विषयलाई एजेन्डा बनाउनुपर्ने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहको अडानपछि सभापति शेरबहादुर देउवाले २० चैतको बैठकबाट रुचि नहुँदा नहुँदै पनि सो निर्णय गराएका थिए ।
त्यसपछि कांग्रेसले गठवन्धन बनाउने विषयमा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग पनि छलफल गरेको थियो । छलफलमा सहभागी जसपाका नेता महन्थ ठाकुरले समेत कांग्रेसलाई सत्ताको नेतृत्व गर्न रुचि नभएको बताउँदै आएका छन् ।
सोमबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा सरकार गठनको विषय प्रवेश नै नभएपछि कांग्रेसको सत्ता अरुचि झनै प्रस्ट देखिएको हो । कांग्रेसकै नेताले समेत हाल कांग्रेसले निर्णय गर्दैमा सरकार बन्ने अवस्था नरहेको तर प्रतिपक्ष सधैं सरकारको नेतृत्वका लागि प्रयासरत रहने बताउँदै आइरहेका छन् ।
कांग्रेस सभापति देउवा स्वयंले समेत माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण सरकार गठनको विषय ओझेलमा परेको बताउँदै आइरहेका छन् ।
देउवाले औपचारिक कार्यक्रममा नै ‘माओवादी केन्द्रले सरकार गठनका लागि पहिले सरकारलाई दिएको समर्थन फिर्ता लिनुप¥यो नि’ भन्दै सरकारलाई माओवादीले दिएको समर्थनकै कारण ‘सरकारबाट ओलीलाई बिदा गर्न समस्या भएको’ बताउँदै आएका छन् ।
यस्तै, जसपा पनि कुन र कस्तो सहमतिमा नयाँ सत्ता गठबन्धनमा सहभागी हुन्छ भन्ने स्पष्ट भइनसकेको अवस्था छ । हाल जसपाको झुकाव कांग्रेससँग भन्दा बढी प्रधानमन्त्री ओलीको दल एमालेतर्फ देखिएको छ ।
कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी बैठकमार्फत सरकारको नेतृत्वका लागि पहल गर्ने निर्णय भए पनि संख्या पर्याप्त नरहेको बताए ।
‘सरकारको नेतृत्वका लागि पहल गर्ने निर्णय भएको हो, तर संख्या छैन, संख्या कसरी सुनिश्चित गर्ने भन्ने मूल कुरा हो,’ कांग्रेस सहमहामन्त्री महतले राजधानीसँग भने ।
जसपा अध्यक्ष उपेन्द्र यादवले कांग्रेसको निर्णयलाई सकारात्मक रूपमा लिएको भन्दै प्रतिगमनविरुद्ध आन्दोलनमा उभिएका शक्ति एक ठाउँमा उभिएर नयाँ सरकार गठन गरिने बताए । तर, उनको दलभित्रको विवादका कारण समेत सत्ता गठबन्धनमा अलमल हुँदै आइरहेको छ । उनकै दलको ठूलो शक्ति प्रधानमन्त्री ओलीसँग निकट रहँदै आएको छ ।
यस्तै, माओवादी केन्द्रलेसमेत मंगलबार बसेको केन्द्रीय समिति बैठकबाट ‘सरकारलाई दिएको समर्थन फिर्ता लिन पत्र मात्रै पठाउन बाँकी रहेको’ भन्ने प्रतिक्रिया दिएको छ । राजधानी दैनिकबाट
No ads found for this position


डिसी नेपाल
Facebook Comment