लघुकथा : छोरीको मूल्य
लगभग २५ वर्षपछि एक दिन ऊसँग काठमाडौँमा भेट भयो । ऊ र म सानैदेखिका साथी हौँ। मलाई उसले उसको भाडाको घर लिएर गयो।
मारवाडी भए पनि उसको व्यापार फस्टाएको रहेनछ। उसले २० औँ वर्षपछि पनि घर किन्न सकेको रहेनछ।
मलाई उसको यो अवस्था देखेर दिग्दार लाग्यो। अनि मैले सोधेँ – अरे यार, घर पनि बनाएन छौ?
– छोरी पढाउँदा पढाउँदा घर बनाउने कुरालाई महत्त्व नै दिएनौँ । छोरीको बिहेकर्म भएपछि एउटा सानो घर बनाउनु पर्ला। ४ आना घडेरी छ।
‘छोरी कतिवटा छन् र ?’ मैले फ्याट्ट सोधेँ ।
‘तीन’ उसले छोटो उत्तर दियो।
‘के के पढ्दैछन् ?’ पुःन प्रश्न गरेँ।
‘जेठी डाक्टर, माइली कम्प्युटर इञ्जिनियर र कान्छी बीबीए पढ्दैछन् ।’ उसले सङ्क्षेपमै बतायो।
मेरो दिग्दारी अझै हटेको थिएन। अनि फेरि मैले सोधेँ – बिहे खर्च त निकै लाग्छ होला नि। त्यसको जोगाड छ?
उसले छोटो उत्तर दियो – छ।
‘अनि दहेज ?’ मेरो प्रश्न थियो।
उसले भन्यो – ए तिमीलाई थाहा छैन ? अचेल मारवाडीको छोरीको बिहेमा दहेज चाहिन्न ।
‘अनि बिहे खर्च पनि त निकै चाहिन्छ नि अहिलेको जमानामा।’ – मैले भनेँ ।
‘होइन नि, भ्रूण हेर्दै छोरी मार्दै गर्ने मारवाडी समुदायमा अहिले छोरीको अकाल भएको छ। मारवाडीमा पढेको छोरी नै पाइन्न। मेरी छोरीको हाथ माग्न आएका मारवाडीहरुले एक करोडसम्म दिने कुरा गरेका छन्।
मैले भनेँ – मोज भएछ तिमीलाई।
उसले जवाफ दियो – पढि नसकी छोरीको बिहे गर्दिनँ। पैसाले के हुन्छ र ? म अमूल्य छोरीलाई बेच्दिनँ नि।
No ads found for this position

डिसी नेपाल
Facebook Comment