नेपालको टि-२० इतिहासकै ठूलो अन्तरको जित, त्रिदेशीय सिरिजको उपाधि नेपाललाई

डिसी नेपाल
११ वैशाख २०७८ १६:३३

काठमाडौं। नेदरल्याण्डलाई फाइनलमा पराजित गर्दै नेपालले त्रिदेशीय सिरिजको उपाधि जितेको छ । आज किर्तिपुर मैदानमा भएको फाइनलमा नेपालले नेदरल्याण्डलाई १४२ रनले पराजित गरेको हो । नेपालले दिएको २३९ रनको लक्ष्य पच्छ्याएको नेदरल्याण्ड १७.२ ओभरमा ९६ रनमै अलआउट भएको हो ।

यो नेपालको टि–२० अन्तर्राष्ट्रिय इतिहासकै सबैभन्दा ठूलो जीत हो । यसअघि नेपालले २०१९ को डिसेम्बरमा दक्षिण एसियाली खेलकुदमा भुटानलाई १४१ रनले पराजित गरेको थियो । आज नेदरल्याण्डलाई त्योभन्दा बढी १४२ रनले पराजित गरेको हो ।

नेदरल्याण्डलाई सस्तैमा समेट्न नेपालका बलरहरुले उत्कृष्ट बलिङ गरेका थिए । नेपालका लागि करण केसीले ३, सन्दिप लामिछानेले २, कमल सिंह ऐरीले २ विकेट र अविनाश बोहोराले १ विकेट लिए । नेदरल्याण्डले २ विकेट रनआउटको रुपमा गुमाएको थियो । तोबियास भाइसलाई आसिफ शेखले र बास डे लिडेलाई कुशल भुर्तेलले शानदार रुपमा डाइरेक्ट हिटमा रनआउट गरेका थिए ।

नेदरल्याण्डको लागि सबैभन्दा धेरै सेबास्टियन ब्राटले २३ रन बनाए । म्याक्स ओडोडले २० र कप्तान पिटर सिलरले १३ रन बनाए । अरु कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । यसअघि कुशल भुर्तेल र कुशल मल्लको शानदार अर्धशतक प्रेरित नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २३८ रन बनाएको थियो । यो नेपालको टि–२० क्रिकेट इतिहासमै सर्वाधिक स्कोर हो ।

नेपालको लागि कुशल भुर्तेलले सबैभन्दा धेरै ७७ रन बनाए । ५३ बल खेलेका उनले ७ चौका र तीन छक्का हाने । कुशल मल्लले २४ बलमा ५० रन बनाए । दिपेन्द्र सिंह ऐरीले ४८, कप्तान ज्ञानेन्द्र मल्लले ३३, आसिफ शेखले १६ रनको योगदान दिए । नेदरल्याण्डका लागि फिलिप बोइसभेनले २ र सब्सटियान ब्राटले १ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *