जसपाभित्रकाे शक्ति संघर्ष पेचिलो बन्दै

सम्भव सिंह ठकुरी
२१ वैशाख २०७८ १५:२४

काठमाडौं। संसदको चौथो दल जनता समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ। दुई ध्रवमा विभाजित जसपा प्रतिनिधिसभा पुनःस्थापना भएयता प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई समर्थन गर्ने कि विकल्प खोज्ने कुरामा अनिर्णित हुँदा विवाद उत्कर्षमा पुगेको हो।

पूर्व समाजवादी पक्ष प्रधानमन्त्री ओलीको जसरी पनि विकल्प खोज्ने पक्षमा देखिएको छ भने पूर्व राजपा ओली सरकारलाई निरन्तरता दिएर आफ्नो माग सम्वोधन गराउने पक्षमा देखिएको छ।

जसपा भित्रको विवाद संघीय सरकारमा मात्र हैन लुम्बिनी प्रदेशमासमेत पार्टी हितविपरीत कार्य गरेको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवले चार सांसदलाई कारबाही गरेपछि विवाद सतहमा आएको हो।

यादव समूहले यी सांसदलाई कारबाही गर्न १४ वैशाखमा पार्टीको केन्द्रीय कार्यकारिणी समितिले निर्णय गरेको जनाएको छ। तर जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर समूहले लुम्बिनी प्रदेशमा आफ्ना चार सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीले नगरेको भन्दै सोही विषयको जानकारी दिन निर्वाचन आयोगसम्म पुगेको छ।

यसरी जसपा भित्र शक्ति संघर्ष चलिरहेको बेला अध्यक्ष महन्थ ठाकुरले सोमबार आफ्नो पक्षमा रहेका सांसद र केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई पूर्व राजपाको कार्यालयमा बोलाई गोप्य बैठक राखे।

पूर्व राजपाको मात्र गोप्य बैठक बस्नुको कारण के हो त?

अध्यक्ष ठाकुर निकट जसपाका केन्द्रीय कार्यकारिणी सदस्य शरतसिंह भण्डारीका अनुसार केही संञ्चार माध्यममा सोमबार पूर्व राजपाले हस्ताक्षर संकलन गर्यो भन्ने समाचार आए पनि हस्ताक्षर संकलन कुनै पनि प्रयोजनको लागि नभएको र त्यो एउटा राजनीतिक जमघट मात्र भएको बताउँछन्।

‘म आफैं जसपाको केन्द्रीय कार्यकारिणी सदस्य हुँ। म त्यो बैठकमा उपस्थित भएको छैन र हस्ताक्षर पनि गरेको छैन,’ भण्डारीले डिसी नेपालसँग भने, ‘तर यही बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीजीलाई विश्वासको मत दिने या नदिने भन्ने विषयमा उपत्यकामा रहनु भएका सांसद तथा केही केन्द्रीय कार्यकारिणी सदस्यहरु पूर्व राजपा पार्टी कार्यलयमा भेला भएका हुन् तर त्यसलाई बैठक भन्न मिल्दैन।’

बैठक भनेको सबै पार्टीको सबै शिर्ष नेतासहित कार्यकारिणी सदस्यको साझा उपस्थितिबाट आउने निर्णय हो। सोमबारको बैठकमा कुनै पनि निर्णय नभएको त्यो एउटा र बिचार मिल्ने साथीहरुबीचको भेटघाट मात्रै भएको भण्डारीले दाबी गरे।

‘सोमबार उपस्थित भएका केही साथीबीच ठोस निर्णय लिने भन्दा पनि स्वभाविक रुपमा समसायिक राजनीतिक घटनाक्रमका विषयका केही कुरा उठेको हो। मूलत हामी २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल भएको थियो,’ उनले भने, ‘हाम्रो प्रष्ट लाइन छ, हाम्रो माग मुद्दा व्यवहारिक रुपमा कार्यान्वयन नभएसम्म हामी प्रधानमन्त्रीलाई विश्वासको मत हाल्दैनौँ हाम्रो अध्यक्ष महन्थ ठाकुरको भनाइलाई सापटी लिने हो भने हामी अब उदाारो कारोबार गर्दैनौँ।’

उनले लुम्बिनी प्रदेशमा चार जना सदस्यलाई पदमुक्त गर्ने विषयमा पार्टीको बैठक नै नबोलाई आफूहरुसँग बहुमत छ भन्ने आधारमा कारवाही गरेको भन्दै उक्त कदम अवैधानिक भएको उनले जनाए।

तर अध्यक्ष उपेन्द्र यादव निकट मानिने नेता मोहम्द इस्तियाक राईले सोमबार केही सीमित नेताहरु भेला भएको भन्ने कुरा संञ्चार माध्यमबाट मात्र थाहा पाएको बताए। ‘ सोमबार सीमित नेता बसेर भेला गरेको कुरा सञ्चामाध्यममार्फत जानकारी पाएका छौं। उहाँहरुले माग सम्वोधन गर्ने विषयमा उधारो सम्झौता नगर्ने भन्नु भएको छ। तर आजसम्म माग पूरा भएको खै?’

उनले जसपाले वैशाख २७ गते संसदमा प्रधानमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *