निषेधाज्ञामा सडकमा देखियो अद्भूत दृश्य, प्रहरीले पनि दंग परेर हात जोडे

डिसी नेपाल
२२ वैशाख २०७८ १७:३१

काठमाडौं। कोरोनाभाइरसको बढ्दो प्रकोपका बीच कैयौं सावधानीहरु अपनाइएका छन् । भिडभाड हुन नदिन लकडाउन, निषेधाज्ञासहित धेरै कडाइहरु गरिएका छन् । तर, सरकारले गरेको कडाइ उल्लंघन गर्नेहरु पनि प्रशस्तै देखिएका छन् । यही क्रममा भारतमा लगाइएको जनता कर्फ्युको क्रममा सडकमा यस्तो दृश्य देखियो कि सडकमा तैनाथ प्रहरीहरुले पनि हात जोडे । पछिल्लो समय कोरोनाभाइरस सबैभन्दा धेरै फैलिइरहेको देश भारतको मध्य प्रदेशमा यस्तो अद्भूत दृश्य देखिएको हो ।

भारतीय मिडियाका अनुसार मध्य प्रदेशको गुनामा जनता कर्फ्युका बीच एक व्यक्ति आफ्नो पूरै परिवारलाई मोटरसाइकलमा राखेर एक बिहे कार्यक्रममा सहभागी हुन जाँदै थिए । उनलाई प्रहरीहरुले हनुमान चौराहामा रोके । ओभरलोड देखेपछि प्रहरीहरुले मोटरसाइकल चलाइरहेका व्यक्तिसँग यसबारे सोधे । जवाफमा मोटरसाइकल चलाउने व्यक्तिले आफूले मास्क लगाएको र कोरोना गाइडलाइनको पनि पालना गरिरहेको जवाफ दिए ।

उनको कुरा सुनेर प्रहरीहरु पनि चकित परे । उनको कुराले प्रहरीहरु यतिसम्म आश्चर्यमा परे कि उनीहरु सडकमा हात जोडेर उभिए । प्रहरीहरुलाई यी व्यक्तिलाई कोरोना गाइडलाइन अन्तर्गत भौतिक दूरी भन्ने कुरा पनि हुन्छ भन्ने कुरा कसरी सम्झाउने भन्ने समस्या पर्यो । किनकि ती व्यक्तिले मोटरसाइकलमा आफूसहित ६ जना राखेर यात्रा गर्दै थिए ।

मोटरसाइकलमा ६ जना चढेर यात्रा गरेको अपराधमा ती व्यक्तिलाई चलान काटेर जरिवाना तिराइएको छ । प्रहरीले उनलाई राम्रोसँग सम्झाएर छोडेका छन् । मोटरसाइकल चलाइरहेका व्यक्तिको नाम रतन जाटव भएको बताइएको छ । उनलाई अढाइ सय रुपैयाँ जरिवाना तिराइएको छ । यी व्यक्ति आफ्नो सालाको बिहेमा सहभागी हुन शिवपुरीबाट गुना जिल्लाको बाँसखेडी जानको लागि आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *