कलाकार निशानः ‘मान्छेको ज्यानभन्दा ठूलो केही होइन, दुःखमा एक भएर उठौं बरु पछि प्रतिस्पर्धा गरौंला’

रिता बस्नेत
३० वैशाख २०७८ ११:३२

काठमाडौं। यतिबेला देशको पूर्वदेखि पश्चिमसम्म कोरोना संक्रमणको भयावह स्थिति छ। तरपनि गाउँघरतिर भने सहरको जस्तो भयावह स्थित आइनसकेको अवस्था रहेको छ। र, भोलिका दिनमा सहरकै जस्तो स्थिति गाउँमा नहोला भन्न सकिने अवस्था पनि छैन।

सहरी क्षेत्रमा देखिएको भयावह स्थितिलाई मध्यनजर गर्दै कलाकार ताराचन्द्र बजगाई (निशान)ले आफू जन्मे हुर्केको गाउँमा बनाइएको आइसोलेशन वार्डको लागि १० वटा बेड र पाँच थान अक्सिजन सिलिण्डरलगायतका स्वास्थ्य सामाग्री सहयोग गरेका छन्।

बकैयाँ गाउँपालिकाका अध्यक्ष दामोदर खनालका अनुसार कलाकार बजगाईँले कोरोना संक्रमितको लागि मकवानपुर जिल्लाको बकैया गाउँपालिकास्थित हात्तीसुँडे सामुदायिक स्वास्थ्य इकाईलाई १० वटा बेड र पाँच थान अक्सिजन सिलिण्डर किनिदिएका हुन्।

गाउँपालिकाले बनाएको उक्त स्वास्थ्य इकाईको भवनमा गएर उनले व्यक्तिगतरुपमा तीन लाख रकम बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेका छन्। स्थानीय बुद्ध मावि व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका कलाकार बजगाईँले गत सोमबार हात्तीसुँडे इकाईमा सो १० शैय्याको आइसोलेशन वार्ड सञ्चालनका निम्ति सेनिटाइजर, मास्कलगायतका स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गरे।

सोही सहयोगको बारेका कुराकानी गर्दा कलाकार बजगाईँ भन्छन्, ‘गाउँमा भएका संक्रमितलाई अप्ठ्यारो परिस्थिति नआओस् भनेर सहयोग गरेको हो। हाम्रो गाउँ पनि सहरीकरण नभएकाले संक्रमित धेरै देखिएको छैन तर आज नभएको चिज भोलि नहोला भन्न पनि सकिन्न।’

निकट भविष्यमा अप्ठ्यारो अवस्था नआउला भन्न सकिँदैन भन्ने हेतुले थोरै भएपनि केही राहत होस भनेर सहयोग गरेको बताउने उनले भने, ‘आफू जन्मे, हुर्के, पढेको ठाउँमा यसअघि पनि दुई लाख बराबराको सेनिटाइजर, माक्स लगायतका सामाग्री सहयोग गरेको थिए।’ उनले उक्त स्वास्थ्य सामाग्री बुद्ध मावि स्कुललाई एक महिना अघि दिएको जानकारी गराए।

नेपालमा भएको अहिलेको भयावह स्थितिलाई आ–आफ्नो ठाउँबाट सकेको सहयोग सबैले गर्नु पर्छ भन्दै उनी भन्छन्, ‘अहिले सबै नेपालीलाई परेको दुःख हो। अहिले त नजिक र टाढाको सम्बन्ध भन्ने पनि अवस्था रहेन। सरकारको मुख मात्र नहेरेर जति सकिन्छ एकले अर्कोलाई सहयोग गरौं। किनभने सर्वप्रथम त मान्छेको ज्यानभन्दा ठूलो केही पनि होइन। मान्छे आफू रहेपछि धन भनेको पछि पनि कमाउन सकिन्छ। बरु, पछि फेरि एक अर्कामा प्रतिस्पर्धा गरेर व्यापार व्यवसाय गरी कमाउला। तर, अहिले दुःखमा सबै एक भएर हातेमालो गरौं।’

काठमाडौंमा व्यापार व्यवसाय गरेर बसे पनि उनले आफ्नो जन्मघरका छरछिमेकलाई गरेको सहयोग सह्रानीय छ। उनी भन्छन्, ‘आफू जन्मेको छरछिमेकको माया पनि हुन्छ र सबैले सकेको आफ्नो ठाउँबाट सहयोग गरौं भन्ने पनि हो। छरछिमेक भन्नासाथ मैले मेरो छरछिमेकको लागि मात्र गर्ने त होइन। तरपनि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्दा र मैले मेरो ठाउँबाट गर्दा अरुलाई पनि त्यसले प्रभाव पार्छ र सकेको आफ्नो ठाउँबाट गर्नुहोला भन्ने लागेर सहयोग गरेको हुँ।’

सहयोगी भावनाका कलाकार बजगाईँले पुनः सो गाउँपालिकाका सर्वसाधारण जनताको लागि सहयोगमा जुट्ने बताएका छन्। उनले भने, ‘स्वास्थ्यको क्षेत्रमा त्यतिले मोटामोटी पुग्छ होला। अब गरिबीको लागि खाद्यन्य दिनु पर्छ। गाउँमा दैनिक ज्याला मजदुरी गरेर खाने मान्छेको काम सबै बन्द भएको छ। त्यस्तो अप्ठ्यारोमा पर्ने व्यक्तिको नाम संकलन हुँदैछ, त्यसको लागि छुट्दै प्याकेज घोषणा गर्छु।’

उनी भगवानसँग मानवजातिको यो भन्दा ठूलो क्षति नहोस भन्दै कामना गर्छन् र भन्छन्, ‘हामी सबै मिलेर नजिकको टाढाको केही पनि नभनि मावनता ठूलो हो भनेर एक अर्कालाई सेवा, सहयोग गरौं। कहाँ अप्ठ्यारो छ, हेरौं र कसैलाई असहज हुने वातावरण नदिऔं।’

गाउँपालिकालाई उक्त सहयोग गरेका कलाकार बजगाईँको प्रशंसा गर्दै बकैयाँ गाउँपालिकाका अध्यक्ष खनाल भन्छन्, ‘उहाँ यही जन्मिनु, पढ्नु भएको एउटा समाजसेवी युवा पनि हो। उहाँ एकदम मनकारी, व्यवसायी, कलाकार युवा हुनुहुन्छ। हामीलाई सहयोग गर्नै पर्छ भनेका पनि होइनौं, दायित्व त हाम्रो हो। तरपनि ताराचन्द्र जस्तो सहयोगी साथीहरुको चाहीँ धेरै आवश्यकता छ, यो अवस्थामा।’

अध्यक्ष खनालले सो पालिकामा हिजो (बुधबार)सम्म आठ जना कोरोना संक्रमित रहेको जानकारी गराए। उनका अनुसार ती संक्रमितको अवस्था भने सामान्य रहेको छ।

उनी थप्छन्, ‘हामीले सजगता अपनाएकै कारणले यहाँ संक्रमण कम देखिएको हो। हाट बजार, पसलहरु बन्द गरेका छौं। अति आवश्यक काम बाहेक अन्य अफिसमा हुने कामहरु पनि रोकेका छौं। यो रोकथाम गरेर हो नत्र भने त कति हुन्थे कति। ठाउँठाउँमा माइकिङ गरेर घरमा सुरक्षित बस्ने हिसाबले सबैलाई सचेत गराएका छौं बाहिर हिड्न दिएका छैनौं।’

उनका अनुसार हाल सो गाउँपालिकामा सार्वजनिक बसहरु चल्न दिइएको छैन भने भिडभाड हुने किसिमका कार्यक्रमहरु पनि रोकिएको छ। साथै, हाल सो गाउँपालिकामा अक्सिजनसहितको सबै प्राथमिक स्वास्थ्य केन्द्रमा २० बेडको आइसोलेशन व्यवस्थापन भइराखेको छ।

संक्रमितको दयनीय अवस्था नभएपनि सो गाउँपालिकामा कोभिड संक्रमितको लागि भने दुई वटा एम्बुलेन्समध्ये एउटा छुट्याइएको अध्यक्ष खनालले बताए। त्यस्तै, औषधि, ग्यास आदि अन्य स्वास्थ्य सामाग्री ओसारपसार गर्ने काम भने गाउँपालिकाको गाडीले गर्दै आएको छ। उनका अनुसार हाल सो गाउँपालिकाले सबैको कोरोना टेष्ट निःशुल्क गरिदिदैँ आएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *