नेकपा एमाले विवाद समाधान कार्यदलकाे बैठक बस्दै

डिसी नेपाल
४ जेठ २०७८ १२:४८

काठमाडौं । विवाद मिलाउनका लागि नेकपा एमालले बनाएको कार्यदलको बैठक बस्ने भएको छ। आज दिउँसो ३ बजे उक्त कार्यदलको बैठक बस्न लागेको हो।

नेकपा एमालेमा आएको विवाद समाधानका लागि बनाइएको उक्त कार्यदलको समयावधि ३ दिनको छ। पहिलो दिन कार्यदलको बैठक बस्न सकेन भने आज दोश्रो दिन बैठक बस्न लागेको हो। १० सदस्यीय कार्यदलको बैठकले आज विवाद मिलाउने विषयमा कुराकानी गर्ने बताइएको छ।

गएको फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काएको थियो। फागुन २८ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेकपा माओवादी केन्द्रबाट आएका गृहमन्त्री रामबहादुर थापालाई समेत एमालेको केन्द्रीय समितिमा ल्याएका थिए। त्यसपछि एमाले भित्रको विवादले उग्ररुप लिएको थियो।

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालको समूहमा भएका नेताहरुको जिम्मेवारी खोसिएको थियो। नेपाल समूहले ती निर्णयहरु एकतर्फी गरेको भन्दै बदर गर्न बारम्बार दबाब दिँदै आएको छ। साथै उक्त समूहले पार्टीलाई माओवादी केन्द्रसँग एकीकरण हुनु पूर्व २०७५ जेष्ठ २ गते फर्काउनु पर्ने माग राख्दै आएको छ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बैशाख २३ गते विश्वासको मत लिन बोलाइएको प्रतिनिधिसभाको विषेश अधिवेसनमा समेत नेपाल समूहका नेताहरु अनुपस्थित भए। नेपाल समूहले सामुहिक राजीनामा दिने कुरा अन्तिम अवस्थामा आएर रोकिएको थियो। त्यसपछि ओली र नेपालबीच भएका छलफलहरुले विवाद समाधानको लागि कार्यदल बनाउँने निर्णय गरेका थिए।

कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन्। त्यस्तै, नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त र गोकर्ण विष्ट रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.