इजरायल–प्यालेस्टाइन संघर्षमा रुस कसको पक्षमा उभिन्छ ? के भन्छन् राष्ट्रपति पुटिन ?
काठमाडौं। इजरायल र प्यालेस्टाइनबीच बढिरहेको सशस्त्र संघर्षका बीच शक्तिशाली देशहरुले आ–आफ्नो पक्ष लिइरहेका छन् । अमेरिकाले यो सैन्य संघर्ष रोक्नुपर्ने बताइरहँदा उसको झुकाव इजरायलतर्फ देखिएको छ । अमेरिकाले प्रस्ट रुपमा आफूले इजरायलको पक्ष लिने बताएको छैन तर अमेरिकाले पछिल्लो समय गरेका केही निर्णय र दिएका बयानले ऊ इजरायलको पक्षमा भएको प्रस्ट हुन्छ ।
केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासको आक्रमणका बीच आफ्ना नागरिकको रक्षाका लागि जवाफी आक्रमण गर्नु इजरायलको अधिकार भएको बताएका थिए । लगत्तै बाइडेनले इजरायललाई ७३५ मिलियन डलर मूल्य बराबरका हतियार उपलब्ध गराउने सम्झौता पनि अनुमोदन गरेका छन् । तत्काल युद्धबिरामको लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा चीनसहितले ल्याएको प्रस्ताव पनि अमेरिका एक्लैले पारित हुन दिएको छैन । र, युद्धबिराम नहुँदा सबैभन्दा ठूलो क्षति प्यालेस्टाइनीले व्यहोर्नुपर्ने प्रस्ट भइसकेको छ ।
यही बीचमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजराल–प्यालेस्टाइन संघर्षलाई समाप्त गर्न आह्वान गरेका छन् । उनले दुवै पक्षलाई हिंसा रोकेर विवाद सुल्झाउने वैकल्पिक तरिका खोज्न आग्रह गरेका छन् । पुटिनले भनेका छन् ‘पछिल्लो समय हामीले मध्यपूर्वमा तीब्र रुपले तनाव बढिरहेका देखेका छौं । हामी सबैलाई यसबारे थाहा छ र चिन्तित मनले यो क्षेत्रका घटनाक्रम नियालिरहेका छौं । प्यालेस्टाइनी र इजरायलीबीच निकै संघर्ष छ । यसमा बालबालिकासमेत ठूलो संख्यामा नागरिक हताहत भइरहेका छन् ।’
रुसी समाचार एजेन्सी तासका अनुसार मंगलबार विदेशी राजदूतहरुको लागि आयोजित एक कार्यक्रममा पुटिनले यस्तो बताएका हुन् । पुटिनले जोड दिँदै भने ‘दुवै पक्षले हिंसालाई रोक्नु र सुरक्षा परिषदको प्रस्ताव र अन्तर्राष्ट्रिय कानुनको आधारमा समाधान खोज्नु अनिवार्य छ भन्ने हामी मान्छौं ।’
जेरुसेलमस्थित अल अक्सा मस्जिदमा झडप भएपछि सुरु भएको विवाद अहिले निकै हिंसात्मक भएको छ । हमाससहित प्यालेस्टाइनका चरमपन्थी संगठनले इजरायलतर्फ रकेट हानिरहेका छन् । इजरायल पनि लगातार गाजा पट्टि क्षेत्रमा हवाइ आक्रमण गरिरहेको छ । इजरायलको आक्रमणमा २१३ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ र मारिनेमध्ये ६० भन्दा बढी बालबालिका छन् ।
पुटिनले सुरक्षा परिषदको स्थायी सदस्यको रुपमा रुसले गम्भीर संकट र कैयौं अन्य जरुरी अन्तर्राष्ट्रिय समस्याहरुको समाधानमा आफ्नो योगदान दिन चाहेको बताए । पुटिनले भने ‘हामीले सिरियामा स्थिति सामान्य गराउनको लागि धेरै गरेका छौं । हामी सिरियामा शान्तिपूर्ण वार्ता सुरु गर्नको लागि सहयोग गरिरहेका छौं । संघर्षविरामपछि विवाद सुल्झाउने प्रयास र शरणाथीहरुको फिर्ती चलिरहेको छ ।’







डिसी नेपाल








Facebook Comment