अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी तलबविहीन

डिसी नेपाल
१२ जेठ २०७८ १९:३५
16
Shares

पर्वत । पर्वत अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू पाँच महिनादेखि तलबविहीन बनेका छन् ।कोष तथा लेखा नियन्त्रक कार्यालयले टिएसए पद्धतिअनुसार खाता सञ्चालन गर्न भन्दै चालु अवस्थामा रहेको खाता सञ्चालनमा रोक्का गरेपछि उनीहरु तलब पाउनबाट बञ्चित बनेका हुन् । अस्पतालको नेपाल बैंक लिमिटेड पर्वत शाखामा राखेको खाता रोकिएको छ ।

काम गरेको लामो समय हुँदा समेत तलब नपाउँदा अस्पतालको कोषबाट तलब खाने १५ जना कर्मचारी समस्यामा परेका हुन् । ‘‘यो महामारीको बेलामा हातमुख जोड्न नै कठिन हुने बेला आएको छ । बिहानदेखि बेलुकासम्म बिरामीको सेवा ध्यान दिनुपर्छ । तलब नआउँदा बिरामीको उपचारमा खटिनसमेत कठिनाइ भएको छ”, डा. डिबी क्षेत्रीले भने, ‘‘दैनिक रोजिरोटीकै समस्या भएको छ ।”

करारमा कार्यरत कर्मचारीहरूले समस्याबारे जानकारी गराउँदै अस्पताल प्रशासन र अस्पताल व्यवस्थापन समितिमा निवेदन दिइएको भए पनि कोलेनिकाबाट खाता सञ्चालनको अनुमति नआएका कारण माग सुनावाइ नभएको उनको भनाइ छ । अस्पतालका कर्मचारी राजेश गिरीले केही चिकित्सकले माघदेखि र कर्मचारीले फागुनदेखि तलब नबुझेको बताए । तलबकै आधारमा बजारमा बसेर पेट पाल्नेहरूलाई समस्या भएको उनको भनाइ छ ।

अस्पताल व्यवस्थापन समितिको खाताबाट तलब पाउने ती १५ जना कर्मचारीमा मासिक रु १३ हजार रुपैयाँदेखि रु.दुई लाख २७ हजारसम्म पाउनेहरू छन् । मासिक करीब रु.सात लाख तलबमा खर्च हुन्छ ।

कोरोना सङ्क्रमण अवस्था भयावह भइरहेको बेलामा विभिन्न सामग्रीहरू खरिद गर्नुपर्ने तथा उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पनि तलब दिनुपर्ने बेलामा अस्पतालको खाता सञ्चालन रोकिँदा समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले बताए । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख मोहनशरण भण्डारीले सरकारी कारोबार निर्देशिका २०७६ आइसकेपछि चल्ती खातामा कारोबार गर्न नपाइने नियम अनुसार खाता सञ्चालनमा समस्या भएको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *