विशेष महाधिवेशनको वैधानिकता पुष्टि गर्न अदालतसमक्ष प्रष्ट रूपमा प्रस्तुत हुन्छौं : उपसभापति शर्मा

डिसी नेपाल
२१ साउन २०८३ १६:३०

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतले विशेष महाधिवेशनसम्बन्धी विवादमा पुनरावलोकनको अनुमति दिएको विषयमा प्रतिक्रिया दिँदै विशेष महाधिवेशनको वैधानिक र राजनीतिक सत्यता थप स्पष्ट हुने बताएका छन्।

सर्वोच्च अदालतको संयुक्त इजलासले यसअघि रिट खारेज गरी टुंग्याइसकेको विषयमा पुनरावलोकनको अनुमति दिएपछि उपसभापति शर्माले आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले लामो बहसपश्चात् यसअघि नै न्यायिक निरूपण भइसकेको भए पनि अदालतको यो पुनःपरीक्षणले विशेष महाधिवेशनको वैधानिक तथ्य र राजनीतिक सत्यलाई अझ फराकिलो ढंगले उजागर गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे। साथै, नेपाली कांग्रेस पूर्ण संयम र परिपक्वताका साथ विशेष महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण तथ्यहरू अदालतसमक्ष पुनः प्रस्तुत गर्न पूर्ण रूपमा स्पष्ट, खुला र तत्पर रहेको उनको भनाइ छ।

स्मरण रहोस्, यसअघि सर्वोच्च अदालतले गगन थापा नेतृत्वको विशेष महाधिवेशनलाई वैधानिकता प्रदान गर्ने निर्वाचन आयोगको निर्णय सदर गर्दै तत्कालीन संस्थापन पक्षका नेताहरूको रिट खारेज गरेको थियो। हाल सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनका लागि अनुमति दिएसँगै यस उक्त विवादमा सर्वोच्चमा पुनः सुरुदेखि सुनुवाइ हुने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *