धनुषामा बढ्दो सम्बन्धविच्छेद: वैदेशिक रोजगारी, प्रविधि र आधुनिक जीवनशैली मुख्य कारण
जनकपुरधाम। धनुषा जिल्लामा पछिल्लो समय सम्बन्धविच्छेदका घटनाहरू तीव्र रूपमा बढ्दै गएका छन्। जिल्ला अदालतको तथ्यांक अनुसार सामाजिक संरचनामा आएको परिवर्तन, बसाइँसराइ, आधुनिक जीवनशैली र आर्थिक अवस्थाका कारण दम्पतीहरूबीच सम्बन्धविच्छेदका घटना वृद्धि भएका हुन्।
अदालतका सूचना अधिकारी हेमकुमार महतोका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सम्बन्धविच्छेदका ३३३ वटा नयाँ मुद्दा दर्ता भएका थिए। अघिल्लो आर्थिक वर्षबाट सरेर आएका १६७ वटा मुद्दासहित अदालतमा दर्ता भएका कुल ५०० मुद्दामध्ये २८१ वटा फछ्र्यौट भइसकेका छन् भने २१९ वटा मुद्दा अझै विचाराधीन अवस्थामै रहेका छन्।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा सम्बन्धविच्छेदका ३१५ नयाँ मुद्दा दर्ता भएका थिए। उक्त वर्ष सरेर आएका र नयाँ गरी ३४७ वटा मुद्दामा फैसला भएको थियो भने १६७ वटा मुद्दा चालु आर्थिक वर्षका लागि सरेका थिए। सम्बन्धविच्छेदसम्बन्धी मुद्दाको दर्ता सङ्ख्या निरन्तर बढ्दै जानुले धनुषामा वैवाहिक सम्बन्धहरू तनावग्रस्त बन्दै गएको स्पष्ट संकेत गर्छ।
शिक्षा र चेतनाको विकाससँगै महिलाको आर्थिक तथा सामाजिक अवस्थामा सुधार आउनु, वैदेशिक रोजगारीका कारण लामो समयसम्म श्रीमान्-श्रीमती टाढा रहनुपर्ने बाध्यता, सामाजिक सञ्जालको बढ्दो प्रभाव, पारिवारिक विवाद तथा घरेलु हिंसाका घटनाले सम्बन्धविच्छेद बढाएको कानुन व्यवसायी राजकुमार महासेठ बताउँछन्।
उनका अनुसार गरिबी, बेरोजगारी, वैदेशिक रोजगारीले ल्याएको सामाजिक परिवर्तन, एक्लै बस्न रुचाउने जीवनशैली र व्यक्तिगत स्वतन्त्रतातर्फको चेतनाले गर्दा दाम्पत्य सम्बन्धहरूमा चुनौती थपिएको छ।
पछिल्लो समय महिला र पुरुष दुवैले आफूमाथि अन्याय भएको महसुस हुनासाथ कानुनी उपचार खोज्ने प्रवृत्ति बढेको छ। यसले एकातिर नागरिकमा व्यक्तिगत अधिकारप्रतिको जागरूकता बढेको देखाउँछ भने अर्कोतिर पारिवारिक सम्बन्धमा आपसी संवाद र सहिष्णुता घट्दै गएको गम्भीर यथार्थलाई प्रस्तुत गर्छ।
कानुन व्यवसायी दीपककुमार विश्वकर्माका अनुसार सम्बन्धविच्छेदका मुद्दाहरू बढेसँगै अदालतमा पारिवारिक विवाद समाधानका लागि मध्यस्थताको आवश्यकता झन् टड्कारो बनेको छ।
समयमै दम्पतीहरूलाई उचित परामर्श, मनोवैज्ञानिक सहयोग, वैवाहिक शिक्षा र पारिवारिक संवादलाई प्रोत्साहन गर्न सके बढ्दो सम्बन्धविच्छेदको दरलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिने उनको भनाइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment