अज्ञात समूहले आगो लगाउँदा महिला गम्भीर

डिसी नेपाल
१३ जेठ २०७८ १७:५४
120
Shares

डोटी । जिल्लाको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँ बस्ने २८ वर्षीया लक्ष्मी भाटलाई आफ्नै पसलमा सुतिरहेको अवस्थामा गएराति अज्ञात समूहले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीले लक्ष्मीलाई अज्ञात समूहले आगो लगाउँदा गम्भीर घाइते भएको बताए । उनले भने, “आगोले जलेर लक्ष्मी गम्भीर घाइते हुनु भएको छ, कसले र किन आगो लगायो भन्ने विषयमा प्रहरी टोली घटना स्थलमा खटिएको छ, विस्तृत अनुसन्धान हुँदै छ ।”

महिलाको दिपायल राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लक्ष्मीको ६० प्रतिशत शरीरको भाग आगोले जलेको उपचारमा सम्लग्न सुजङ अस्पतालका चिकित्सकले जानकारी दिएका छन् । अज्ञात समूहले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको बुझिएको आदर्श गाउँपालिका–४ का अध्यक्ष नारायण पछेराले बताए ।

प्रज्वलनशील पदार्थ पेट्रोल हो वा मट्टीतेल त्यो भने खुल्न नसकेको इलाका प्रहरी कार्यालय मौवा नगरदहबाट घटना स्थलमा खटिएका प्रहरी निरीक्षक किसनबहादुर चन्दले बताए । उनले भने, “घटनास्थलमा डिजल जस्तो गन्ध आएको छ, पेट्रोल, डिजल वा मट्टीतेल के हो यकिन गर्न सकिएको छैन्, अन्य अनुसन्धानबाट विस्तारै खुल्छ होला ।”

घटना लगतै लक्ष्मीका श्रीमान सन्तोष फरार रहेको प्रहरीले जनाएको छ । फरार रहेका श्रीमान पक्राउ परेपछि घटनाको विस्तृत विवरण खुल्ने जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्ले जानकारी दिए । फरार भएका सन्तोष गाडी चालक भएको र उनकी दुई श्रीमती भएका कारण उहाँले नै घटना घटाएको हुनसक्ने प्रहरीको अनुमान छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *