कोरोना खोपको लागि अनलाइन फारम : सर्वसाधारणका लागि सजिलो की सास्ती?

तर्कबहादुर थापा
१४ जेठ २०७८ १४:३१

काठमाडौं। कालिकोट मान्मकी दिलमाया शाही काठमाडौंमा बसोबास गर्छिन्। अध्ययनको लागि काठमाडौं आएकी उनी कोरोनाको महामारीका कारण जन्मघरमा छिन्। उनी आफू पढेलेखेको कारण कोरोना र त्यससम्बन्धमा आएका समाचारसँग पनि अपडेट रहन्छिन्।

उनलाई अनलाइनबाट फारम भरेपछि खोप लगाउन पाइन्छ भन्ने थाहा भयो। मोबाइलमा लिएको डाटाबाट फारम त भरिन्, तर खोप लगाउने पालो कहिले आउने हो थाहा छैन। डिसी नेपालसँगको कुराकानीमा शाहीले भनिन्, ‘हाम्रो तिर इन्टरनेट पनि छैन। मैले मोबाइलको डाटाबाट भरेकी हुँ। मेरै निधो भएको छैन, अरुको भरेर के काम।’

धनगढीका दशरथ थारु काठमाडौ.मै बस्छन्। उनले आफूले भरेको फारमबाट खोप लगाए। अनलाइनबाट फारम भरेको केही हप्तापछि स्थानीय खोप केन्द्रमा गएर खोप लगाएको सुनाए।

‘आफूले त लगाएँ,’ थारुले भने, ‘घरका पनि सबैलाई लगाउनु पर्ने थियो। कसरी उहाँहरुले गर्नु हुन्छ थाहा छैन। मैले यहाँबाट भर्न त मिल्दो रहेछ। तर, काठमाडौं भए पो कैलालीमा त कसरी सम्भव हुन्छ र?’

सुदूरपश्चिम र कर्णालीका प्रतिनिधि स्थानीयहरुको कुरा सुन्दा अनलाइनबाट फारम भरेमात्र खोप पाउने कुराले सास्ती दिएको छ। सजिलोको लागि भए पनि गाउँगाउँमा इन्टरनेटको पहुँच नहुनु र भएका ठाउँमा पनि इन्टरनेटमा अभ्यस्त नभएका कारण यस्तो समस्या भोग्नु परेको हो।

अनलाइनको भर परेमा मात्र खोप लगाउनु हुन्न : अध्यक्ष ब्याञ्जु

नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जु अनलाइनको भर परेमा मात्र खोप लगाउन नहुने बताउँछन्। डिसी नेपालसँग कुरा गर्दैै अध्यक्ष ब्याञ्जुले सबै ठाउँमा इन्टरनेटको सुविधा र सबै जनता इन्टरनेटमा अव्यस्त नभएका कारण अनलाइनको भर पर्न नहुने बताउँछन्।

उनले भने, ‘त्यो सजिलो, नयाँ प्रयोग, विस्तारै प्रविधिमैत्री बनाउनका लागि मात्र हो भने राम्रो प्रयास हो। तर, अनलाइनकै भरमा मात्र खोप लगाउने उद्देश्य हो भने त्यो उचित हुँदैन। हाम्रो देशमा इनटरनेटको पहुँच पनि प्राप्त छैन। भएको ठाउँका जनता पनि इन्टरनेट मैत्रि भएका छैनन्। त्यसैले पनि यसको भर पर्न हुँदैन।’

स्थानीय तहमा भएका नागरिकको बारेमा स्थानीय सरकारलाई थाहा हुने र खोप लगाउने जिम्मेवारी पनि स्थानीय सरकारलाई दिएपछि प्रभावकारी हुने अध्यक्ष ब्याञ्जुको भनाइ छ।

ब्याञ्जुले भने, ‘सबै साक्षर हुँदैनन्। नपढेकाले अनलाइन फारम भर्न पनि सक्दैनन्। त्यस्तो अवस्थामा को रोगी छन्, कसलाई खोपको आवश्यक्ता पर्छ, वृद्धवृद्धा कति र कसलाई दिने भन्ने कुरा स्थानीय सरकारलाई थाहा हुन्छ।’

गाउँपालिका महासंघ नेपालका अध्यक्ष होम नारायण श्रेष्ठ पनि अनलाइनबाट फारम भरेर दिइने खोप प्रभावकारी नहुँने बताउँछन्। डिसी नेपालसँगको कुराकानीमा उनले भने, ‘मेरो गाउँपालिकामा पनि इन्टरनेट छैन। अधिकांशलाई अनलाइन भन्या के हो भन्ने पनि थाहा छैन। अनि अनलाइनबाट फारम भरेर खोप लगाउने भन्ने कुरा कहाँ हुन सक्छ।’

स्थानीय सरकारलाई नै जिम्मेवारी दिएपछि खोप प्रभावकारी हुने उनको भनाइ छ। उनले भने, ‘हामीसँग पनि स्वास्थ्यकर्मी छन्। डाक्टरहरु हुनुहुन्छ। हामीलाई खोप दिएको अवस्थामा हामी गाउँ गाउँमा गएर खोप लगाउछौं। मेरो गाउँपालिकामात्र नभएर कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र हिमाली तथा पहाडी जिल्लामा भएका गाउँपालिकामा खोप बोकेर स्थानीयको घरघरमा गएर खोप लगाउनु पर्छ। त्यो कसरी अनलाइनबाट फारम भरेकालाई सम्भव होला र?’

स्वास्थ्य मन्त्रालयको फारम भर्ने पेजमा पनि अनलाइनबाट फारम भर्नेले खोप पाउने भने निश्चितता गरिएको छैन। फारमको सुरुवातिमा दिएको बुँदा नं. ५ मा भनिएको छ, ‘यो फारम भर्ने बित्तिकै खोप लगाउने सुनिस्चितता भने जनाउँदैन।’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *